images
images
  • काठमाडौं–८ मा रास्वपाका विराजभक्त श्रेष्ठभन्दा नेकपाका सुमन सायमी बलियो, कांग्रेस–एमालेको छैन चर्चा

    काठमाडौं– काठमाडौं क्षेत्र नम्बर ८ मा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा चुनावी सरगर्मी चुलिँदै गएको छ ।

    गल्ली–गल्लीमा झण्डा, पोस्टर र नाराको प्रतिस्पर्धा देखिए पनि मतदाता भने शान्त र गम्भीर मुद्रामा आफ्नो निर्णयको तयारीमा छन् ।

    २०७९ सालको निर्वाचनमा यस क्षेत्रबाट विराजभक्त श्रेष्ठ (राष्ट्रिय स्वतन्त्र पार्टी) विजयी भएका थिए भने स्वतन्त्र उम्मेदवार सुमन सायमी झिनो मतान्तरले पराजित भएका थिए ।

    यसपटक सायमी नेपाल कम्युनिस्ट पार्टीको तर्फबाट उम्मेदवार बनेका छन् भने विराज पुनः राष्ट्रिय स्वतन्त्र पार्टीबाट मैदानमा छन् ।

    अघिल्लो चुनावको झिनो अन्तर र वर्तमान राजनीतिक समीकरणका कारण प्रतिस्पर्धा थप रोचक र पेचिलो हुने संकेत देखिएको छ ।

    हामीले क्षेत्रका विभिन्न मतदातासँग कुराकानी गर्दा उनीहरूले विगतको अनुभव र वर्तमान अपेक्षा खुलस्त रूपमा व्यक्त गरे ।

    स्थानीय मतदाता जगदीश श्रेष्ठ विगतका निर्वाचित प्रतिनिधिप्रति असन्तुष्ट देखिए ।

    समुदायको नाममा जितेर गएका प्रतिनिधि जनतामाझ फर्केर नआएको उनको गुनासो छ ।

    ‘नयाँ र पुराना सबै उस्तै जस्तो लाग्छ ।

    नेवार समुदायको नाममा विराजलाई जिताइयो, तर फर्केर आएनन् ।

    यसपटक सुमनले जितून् भन्ने चाहना छ । केही फरक काम गर्छन् कि भन्ने आशा छ,’ उनले भने ।

    रामचन्द्र कँडेल भने देशव्यापी माहोललाई आधार मान्दै यसपटक पनि ‘घण्टी’ पक्ष बलियो देखिएको बताउँछन् ।

    ‘देशभर घण्टीकै माहोल देखिन्छ । अघिल्लो पटक पनि जितेकै हो, फेरि जित्छ जस्तो लाग्छ । नयाँलाई नै अवसर दिनुपर्छ,’ उनले धारणा राखे ।

    स्थानीय रूपेश सिमालका अनुसार नयाँ र पुरानाबीचको प्रतिस्पर्धा यसपटक निकै रोचक हुनेछ ।

    ‘अघिल्लो पटक घण्टीले जितेको आधारमा उनीहरू बलिया देखिन्छन् । तर प्रदेश र वडामा राप्रपाले जितेको पृष्ठभूमि पनि छ । त्यसैले नतिजा फरक आउन सक्छ,’ उनले बताए ।

    काजीबाबू खड्काले निर्वाचित प्रतिनिधिको जनतासँगको दूरीप्रति असन्तुष्टि व्यक्त गरे ।

    ‘विराज जितेपछि खासै देखिएनन् । भोट माग्न आउँदा पनि मैले काम भएन भनेको थिएँ । यसपटक नयाँ अनुहारले जितोस् भन्ने चाहना छ । जसले जिते पनि राम्रो काम गरोस्,’ उनले भने ।

    व्यवसायी कृष्ण ढकालले विकास र रोजगारीलाई प्राथमिक मुद्दा बनाउनुपर्नेमा जोड दिए ।

    ‘हामीलाई देश विकास गर्ने प्रतिनिधि चाहिएको छ । माहोल नयाँको देखिन्छ । कांग्रेसका उम्मेदवार पनि राम्रो छन्, सुमन सायमी चर्चित छन्, विराजको पनि आधार छ । जसले जिते पनि युवालाई रोजगारीमा जोड्न सकून्,’ उनले भने ।

    सरिता महर्जनका अनुसार मुख्य प्रतिस्पर्धा विराज र सुमनबीच नै हुनेछ ।

    ‘अघिल्लो पटक सुमन झिनो मतान्तरले हारेका थिए । त्यसैले यसपटक सुमनले जित्छन् जस्तो लाग्छ । विराजले जितेर खासै काम गरेनन्,’ उनले भनिन् ।

    उमेश स्थापितले सुमन सायमी स्थानीय मुद्दा नजिकबाट बुझेका उम्मेदवार भएको दाबी गरे ।

    ‘यो क्षेत्रमा भिजेको र नागरिकका मुद्दा बुझेको व्यक्ति सुमन नै हुन् । त्यसैले म स्वयं अभियानमा लागेको छु,’ उनले बताए ।

    शान्ति श्रेष्ठले भने मतदातामा निराशा र दुविधा दुवै देखिएको बताइन् ।

    ‘नयाँ र पुराना सबै उस्तै जस्तो लाग्छ । खासै आश छैन । तर यसपटक नयाँलाई हेरौं कि भन्ने सोच बनेको छ,’ उनले भनिन् ।

    समग्रमा काठमाडौं–८ मा अघिल्लो चुनावको झिनो मतान्तरको स्मरणसँगै प्रतिस्पर्धा अझ चर्किने संकेत देखिएको छ ।

    मतदातामा परिवर्तनको चाहना, नयाँ अनुहारप्रतिको झुकाव र विकास–रोजगारीजस्ता मुद्दाप्रति चासो स्पष्ट रूपमा देखिन्छ ।

    यसपटक स्थानीय मुद्दा समाधान, युवालाई रोजगारी र दीर्घकालीन विकासका स्पष्ट योजनासहित मैदानमा उत्रने उम्मेदवारले मतदाताको विश्वास जित्ने सम्भावना बलियो देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images