images
images
  • किन अपहरणमा परे मेनपावर एजेन्ट ?

    काठमाडौं- कोटेश्वरबाट एकाबिहानै एक मेनपावर एजेन्ट अपहरणमा परेको खुलेको छ ।

    १५ माघमा सामाखुसीस्थित मोबहिरा ओभरसिज मेनपावरमा एजेन्ट काम गर्ने नवीन दमाई अपहरणमा परेका हुन् ।

    उनलाई अपहरण गरेको आरोपमा आठ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता भएको छ ।

    मुद्दा दर्ता हुनेमा कञ्चनपुरको शुक्लाफाँट नगरपालिका-१२ का १९ वर्षीय सुरेश बोहरा भनिने सुरेशबहादुर बोहरा, दोलखाको शैलुङ गाउँपालिका-३ का २१ वर्षीय विजय बस्नेत, कीर्तिपुर नगरपालिका-१० का ४४ वर्षीय पदमकृष्ण महर्जन, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-८ का २१ वर्षीय कमल तामाङ छन् ।

    त्यसैगरी शैलुङ-३ कै २१ वर्षीय सविन ठकुरी भनिने सविन सेन, बझाङको थलारा गाउँपालिका-७ का २२ वर्षीय सुनिकल रोकाया, भक्तपुर नगरपालिका-१० का ४४ वर्षीय शिवसुन्दर धौमटेल भनिने शिव सुन्दर धौमडेल र मकवानपुरको भीमफेदी नगरपालिका-४ का ३५ वर्षीय दिनेश महर्जन छन् ।

    उनीहरूलाई प्रहरी वृत्त नयाँ बानेश्वरले अनुसन्धान गरेको थियो । प्रहरीको यो अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले अपहरणको कसुरमा मुद्दा दायर गरेको हो ।

    किन परे अपहरण ?
    १५ माघमा काम विशेषले नवीन कोटेश्वर पुगेका थिए । सामाखुसीबाट बा. प्र. ०२-०५८ प ८०५० नम्बरको स्कुटर चलाएर कोटेश्वर पुगेका उनको स्कुटर समूहले रोक्यो ।

    नवीनको हेल्मेट निकालेर उनकै टाउकामा हानियो । उनलाई घाइते बनाएपछि ट्याक्सीमा राखेर गोकर्णेश्वरस्थित स्काई लाइन नामको रेस्टुरेन्टमा पुर्‍याइयो ।

    तेस्रो तलाको एउटा कोठामा लगेर बन्धक बनाइयो । कुटपिट गरियो । अनि अपहरणमा परेको भन्दै फिरौती मागियो ।

    फिरौती नदिए ज्यान लिने धम्की दिएपछि घटनाबारे नवीनले श्रीमतीलाई जानकारी गराए । श्रीमती सरिता परियारको खातामा रहेको ग्लोबल आईएमई बैंकको खाताबाट ५० हजार रुपैयाँ अपहरणकारीको खातामा ट्रान्सफर गरियो ।

    उनै सरिताको ई–सेवाबाट ३० हजार रुपैयाँ ट्रान्सफर गरियो । आफ्नो खातामा रहेको ५ हजार ७४८ रुपैयाँ पनि उनले ट्रान्सफर गरे । थप रकम माग्दा म पैसा मगाउँछु भन्दै झुक्याएर फुत्केको पीडितले बताएका छन् ।

    तीन वर्षदेखि मेनपावरमा एजेन्टको रूपमा काम गर्दै आएको र विदेश पठाउने काम गरेको उनले बताएका छन् । विजय बस्नेतलाई ग्रिस पठाउनेबारे मेनपावरले काम गरिरहेको थियो ।

    तर काम नगरी पैसा खाएको आरोप लगाउँदै अपहरण गरी कुटपिट गर्ने र फिरौती लिएको आरोप पीडितको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images