काठमाडौं– आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), उज्यालो नेपाल पार्टी (उनेपा)ले आ–आफ्ना घोषणापत्र सार्वजनिक गरेका छन् ।
घोषणापत्रहरूमा सडक, रेलमार्ग, ऊर्जा उत्पादन, सिँचाइ, सहरी विकास, खानेपानी र डिजिटल पूर्वाधारलाई मुख्य एजेन्डा बनाइएको छ ।
दिगो विकास, हरित ऊर्जा निर्यात, स्मार्ट सहर, सबैका लागि स्वच्छ खानेपानी र डिजिटल रूपान्तरणजस्ता आकर्षक प्रतिबद्धता दोहोरिएका छन् ।
कांग्रेसले दिगो पूर्वाधार र डिजिटल हबको लक्ष्यसहित ऊर्जा उत्पादन १५ हजार मेगावाट पुर्याउने योजना अघि सारेको छ ।
एमालेले भू–उपग्रह स्थापना, पूर्व–पश्चिम विद्युतीय रेल र ऊर्जा निर्यात हबको अवधारणा दोहोर्याएको छ ।
राप्रपाले ‘ऊर्जा दशक’ घोषणा गर्दै २०३५ सम्म २८ हजार ५०० मेगावाट उत्पादन गर्ने र स्मार्ट सहर निर्माणको लक्ष्य राखेको छ ।
रास्वपाले ५० वर्षे रेलमार्ग योजना र ३० हजार मेगावाट विद्युत् उत्पादनको दीर्घकालीन लक्ष्य प्रस्तुत गरेको छ ।
नेकपाले द्रुतमार्ग, रेलमार्ग र निजगढ विमानस्थललाई प्राथमिकता दिएको छ भने उज्यालो नेपालले सडक विस्तार, जलविद्युत् निर्यात र ‘नेपाल आईटी हब’ को अवधारणा अघि सारेको छ ।
यद्यपि यस्ता महत्त्वाकांक्षी योजनाहरू विगतका चुनावमा पनि दोहोरिँदै आएका छन् ।
कार्यान्वयनमा सुस्तता र प्रतिबद्धता पूरा नहुने प्रवृत्तिका कारण यसपटक पनि यी वाचा व्यवहारमा कति रुपान्तरण हुन्छन् भन्नेमा प्रश्न उब्जिएको छ ।























