काठमाडौं– पाकिस्तान सेनाले आइतबार बिहान अफगानिस्तानसँग सीमा जोडिएको क्षेत्रमा हवाई आक्रमण गरी तहरिक–ए–तालिबान पाकिस्तान (टीपीपी) र इस्लामिक स्टेटसँग सम्बन्धित सातवटा क्याम्प नष्ट गरेको छ ।
पाकिस्तान सरकारले यसलाई हालै भएका आत्मघाती हमलापछि जवाफी कदम बताएको छ ।
सूचना तथा प्रसारण मन्त्रालयका अनुसार यो ‘इन्टेलिजेन्स–आधारित अपरेसन’ थियो र आक्रमणमा प्रयोग भएका नेटवर्क अफगान भूमिबाट सञ्चालित रहेको प्रमाण भएको दाबी गरिएको छ ।
अफगान सञ्चारमाध्यम टोलो न्युजले नांगरहारमा गरिएको आक्रमणमा एकै परिवारका २३ जना भग्नावशेषमुनि परेका र अहिलेसम्म चार जनालाई मात्र उद्धार गरिएको जानकारी दिएको छ ।
अमेरिकी मानवअधिकार संस्था इन्टरनेसनल ह्युमन राइट्स फाउन्डेसनले १८ जनाको मृत्यु भएको जनाएको छ, जसमा महिला र बालबालिका पनि छन् ।
अफगानिस्तानको रक्षा मन्त्रालयले यसलाई सार्वभौमिकताको उल्लंघन भनेको छ र पाकिस्तानलाई ‘सही समयमा कडा जवाफ’ दिने चेतावनी दिएको छ ।
पाकिस्तानले भने आतंकवादी अड्डा मात्र निशाना बनाइएको दाबी गरेको छ, तर अफगान स्रोतले सर्वसाधारणमा क्षति पुगेको बताइरहेका छन् ।
पाकिस्तानले अन्तर्राष्ट्रिय समुदायसँग तालिबानमाथि दबाब दिन आग्रह गर्दै आएको छ ताकि अफगान भूमिलाई अन्य देशविरुद्ध प्रयोग नगरीएको सुनिश्चित होस्। २०२० को दोहा सम्झौताअनुसार तालिबानले अमेरिका र सहयोगी देशहरूको सुरक्षाको लागि अफगान भूमिलाई कुनै आतंकवादी समूहले प्रयोग नगर्ने प्रतिबद्धता जनाइसकेको थियो ।
हवाई आक्रमणअघि मात्रै खैबर पख्तुनख्वाको बन्नु जिल्लामा सुरक्षा काफिलामाथि आत्मघाती आक्रमणमा दुई सैनिक मारिएका थिए ।
यसअघि ६ फेब्रुअरीमा इस्लामाबादमा शिया मस्जिदमा भएको आत्मघाती आक्रमणमा ३१ जनाको मृत्यु र १६९ जना घाइते भएका थिए ।


विश्व खबर 



















