काठमाडौं– दाङ–२ मा पहिलो पटक मतदान गर्न लागेकी २३ वर्षीया वन्दना केसी यसपालि ‘घन्टी’ अर्थात् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई भोट दिने निर्णयमा पुगेकी छन् ।
अघिल्ला चुनावमा परिवारसँगै एमालेका लागि भोट माग्दै हिँडेकी वन्दना यसपालि परिवर्तनको आशामा रास्वपातिर आकर्षित भएकी हुन् ।
उनको विश्वास छ, काठमाडौं महानगरका मेयर बालेन शाह जस्तै नेतृत्व राष्ट्रिय स्तरमा आए देश बदलिन सक्छ ।
दाङ–२ का विभिन्न वडामा गरिएको मतदाता भेटघाटमा पुराना मतदातासमेत ठूलो संख्यामा रास्वपातिर ढल्किएको देखिएको छ ।
२०७९ मा एमाले वा कांग्रेस–माओवादी गठबन्धनलाई मत दिएका कतिपय मतदाता यसपालि रास्वपालाई समर्थन गर्ने बताउँछन् ।
अघिल्लो चुनावमा कांग्रेस–माओवादी गठबन्धनबाट विजयी रेखा शर्मा थिइन् भने एमालेका शंकर पोखरेल झिनो मतान्तरले पराजित भएका थिए ।
अहिले भने रास्वपाका उम्मेदवार विपिन आचार्य प्रतिस्पर्धामा अग्रस्थानमा देखिएका छन् ।
मतदाताहरू रास्वपातिर आकर्षित हुनुका मुख्य कारणमा परिवर्तनको चाहना, विकासप्रति असन्तुष्टि, वैदेशिक रोजगारीको पीडा, विदेशमा रहेका छोराछोरीको दबाब, विगतका चुनावी गठबन्धनप्रति असन्तोष र ‘जेनजी आन्दोलन’ पछिको राजनीतिक निराशा रहेका छन् ।
धेरै युवा तथा पहिलो पटक मतदान गर्ने मतदाता खुला रूपमा रास्वपाको पक्षमा देखिएका छन् ।
यद्यपि एमाले, कांग्रेस र नेकपाका परम्परागत मतदाता अझै आफ्नै दलसँग अडिग छन् ।
केही मतदाता भने कसैलाई विश्वास नगरी चुनाव बहिष्कार गर्ने मनस्थितिमा छन् ।
समग्रमा हेर्दा दाङ–२ मा पुराना दलबाट मत सरेर रास्वपातिर जाने प्रवृत्तिले यो निर्वाचन क्षेत्रको समीकरण उल्लेखनीय रूपमा बदलिएको देखिन्छ ।























