काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराका संगठन विभाग प्रमुख पवन चौधरीले पार्टी परित्याग गरेका छन् ।
चौधरी २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा बारा क्षेत्र नम्बर–४ बाट उम्मेदवार थिए । चौधरी यसपटक पनि उम्मेदवारका आकांक्षी थिए । पार्टीका जिल्ला सभापति चन्दन स्वर्णकारले चौधरीले दल परित्याग गर्नुको एउटा कारण उम्मेदवार चयन रहेको बताए ।
‘उहाँ २५ हजार शुल्क तिरेर पार्टीको आन्तरिक निर्वाचनमा समावेश हुनुभएको थियो । तर अन्तिममा पार्टीले विधि विपरीत उम्मेदवार चयन गरेको प्रति असन्तुष्ट हुनुहुन्थ्यो,’ स्वर्णकारले भने ।
चौधरीले अघिल्लो प्रतिनिधिसभामा उम्मेदवार बनेका मधेशका २५ उम्मेदवारहरू मध्ये सर्वाधिक मत समेत ल्याएका थिए ।
चौधरी समुदायको बाक्लो बसोबास रहेको यो क्षेत्रमा चौधरीले पार्टी छाड्दा त्यसको प्रभाव उम्मेदवारमा पर्ने रास्वपा बाराका सभापति स्वर्णकारको भनाइ छ ।
जिल्ला कमिटिका सहसचिव समेत रहेका चौधरी राष्ट्रिय एकता दलमा प्रवेश गरेका छन् ।
आसन्न निर्वाचनका लागि बाराका तीन वटा निर्वाचन क्षेत्रमा अन्य दलका व्यक्ति ल्याएर टिकट दिइएपछि बारामा रास्वपाका संस्थापकहरूले धमाधम पार्टी छाडिरहेका छन् ।


विश्व खबर 



















