काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले मतदातालाई लेखेको पत्र लिएर एमाले कार्यकर्ताहरू मतदाताको घर-घरमा पुग्न थालेका छन्।
झापा-५ अन्तर्गतका २९ वटै वडाका प्रत्येक टोलमा एमालेले ओलीको पत्र बोकेर घरदैलो अभियान सञ्चालन गरिरहेका छन ।
प्रतिनिधि सभा निर्वाचन परिचालन समितिका संयोजक देवेन्द्र दाहालका अनुसार क्षेत्रभरिका प्रत्येक घरमा पार्टी अध्यक्षको पत्र, पार्टीको प्रतिबद्धता पत्र र विभिन्न जनवर्गीय सङ्गठनका छुट्टाछुट्टै घोषणापत्रहरू पुर्याउने कार्य भइरहेको छ।
उनका अनुसार झापा-५ का सबै टोलमा घरदैलो जारी छ । दमक नगरपालिकाका वडा नम्बर ६ र ७ मा दोस्रो चरणको घरदैलो सम्पन्न भइसकेको छ भने बाँकी ८ वटा वडामा अभियान अन्तिम चरणमा पुगेको छ ।
अध्यक्ष ओलीले मतदातालाई पठाएको पत्रमा फागुन २१ गतेलाई नेपाली जनताको भाग्य र भविष्य निर्माण गर्ने महत्वपूर्ण दिनका रूपमा चित्रण गरिएको छ।
पत्रमा मुलुक गम्भीर सङ्कटको अवस्थामा रहेको उल्लेख गर्दै सामाजिक र पारिवारिक एकतामाथि भइरहेको प्रहारप्रति चिन्ता व्यक्त गरिएको छ ।
पत्रमा भनिएको छ ‘हाम्रो समाज र परिवारभित्रै विभाजन ल्याउने प्रयास भइरहेको छ, जसले अभिभावक र सन्तानबीचको सम्बन्धमा समेत सङ्कट निम्त्याउँदैछ, परिवार र समाज कमजोर भए देश नै कमजोर हुने भएकाले राष्ट्र निर्माणका लागि एमालेलाई मतदान गर्न आह्वान ।’
दमकका विभिन्न टोलमा केन्द्रीय कमिटीदेखि टोल कमिटीसम्मका पदाधिकारी, सदस्य र शुभचिन्तकहरू उत्साहजनक रूपमा परिचालन भएका छन्।
अध्यक्ष ओली आफैँ उम्मेदवार रहेको यस क्षेत्रमा एमालेले घरदैलो र व्यक्तिगत भेटघाटलाई नै मुख्य चुनावी हतियार बनाएका छन्।























