काठमाडौं- अमेरिकी सेनाले राजधानी काठमाडौंको टुँडिखेलमा परेड खेलेको भनी सामाजिक सञ्जालमा तस्वीर भाइरल भएको छ ।
आसन्न प्रतिनिधिसभा निर्वाचनको मुखमा परेको सेना दिवस तथा महाशिवरात्रिका बेला सार्वजनिक यो तस्वीरबारे सर्वत्र चासोबीच जंगी अड्डाले यो नियमित तथा पारस्परिक सम्बन्ध बुझाउने अभ्यासमात्रै भएको भनी भ्रममा नपर्न आग्रह गरेको छ ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार नेपालमा सेना दिवसका बेला नियमित रूपमा आयोजना गरिने समारोहमा अरु देशका सेनाको ब्यान्ड टिमले मैत्री सहभागिता जनाउने गरेको छ, हामी पनि अरु देशमा सैनिक टुकडी लिएर जाने गर्छौँ । अस्ति भर्खरै भारतको सेना दिवसमा नेपाली ब्यान्ड पनि यसैगरी गएको थियो । त्यसको उद्घोष नेपाली भाषामै भएको थियो । आर्मी टु आर्मी अपरेसनअन्तर्गत विभिन्न कार्यक्रममा भाग लिने, संयुक्त अभ्यास गर्नेलगायतका काम नियमित प्रक्रिया मानिँदै आएको छ ।
सबारे जंगी अड्डाले विज्ञप्तिमा पनि खुलाएर लेखेको उनले बताए । नेपाल र अमेरिकाबीच सन् १९४७ यता सैन्य सम्बन्ध रहँदैआएको छ । यसअघि गणतन्त्रकालमै पनि विभिन्न सरकारका पालामा यस्ता सैन्य ब्यान्डका नियमित प्रस्तुति हुँदै आएका छन् ।
नेपाली सेनाका धेरै अधिकृतहरूले अमेरिकास्थित स्टाफ कलेजहरू गएर अध्ययन गर्ने, सिक्ने गर्दैआएका छन् । अमेरिकीहरू पनि कार्यक्रम विशेषमा नेपाल आउने गरेका छन् ।
नेपालले भारत, चीन, अमेरिका, बेलायत, पाकिस्तानलगायत विभिन्न देशका सेनासँग मिलेर नेपाल तथा अन्य देशमा संयुक्त सैन्य अभ्याससमेत गर्ने गरेको छ ।
सेनाले यी सबै कार्यक्रम विगतमाझैँ नियमित सञ्चालन हुने जानकारी दिएको छ ।























