काठमाडौं- विराटनगरमा आइतबार बिहान दुर्घटनामा परेको गाडीबाट ठूलो परिमाणमा गाँजा बरामद भएको छ।
विराटनगर महानगरपालिका–५ स्थित पुलचोकमा आइतबार बिहान १ बजेतिर दुर्घटनामा परेको स्कारपिओ गाडीबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको मोरङ प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सडक छेउको खाल्डोमा परेर दुर्घटनामा परेको बा ८ च ६५०८ नम्बरको गाडीबाट ४ सय २० किलो गाँजा बरामद भएको हो।
राति प्रहरीलाई छलेर गाँजा लिएर भित्री सडक खण्ड हुँदै तीव्र गतिमा गुडिरहेका गाडी अचानक अनियन्त्रित भई सडक छेउको खाल्डोमा खसेर दुर्घटना भएको अनुमान गरिएको छ ।
सवारी दुर्घटनाको खबर आउनासाथ सिआरभी र वडा प्रहरी कार्यालय विराटनगर ९क०को टोली पुग्दा त्यहाँ गाडी मात्रै फेला परेको र चालक फरार भइसकेको थियो। गाडीमा चालक मात्रै थिए वा अन्य कोही थिए वा थिएनन् खुल्न बाँकी रहेको छ।
चालक, गाडीधनीलगायतको खोजीका साथै घटनाको थप अनुसन्धान अघि बढाइएको छ।
प्रहरीका अनुसार दुर्घटना भएको गाडीलाई खाल्डोबाट क्रेनको मद्दतले बाहिर निकालेपछि खानतलासी गर्दा गाडीभित्र सिट तथा डिक्कीको भागमा प्लास्टिकले बेरेर लुकाइछिपाइ राखिएको अवस्थामा ४ सय २० केजी गाँजा फेला परेको हो। यद्यपि, गाँजा कहाँबाट ल्याइएको र अन्तिम गन्तव्य कहाँ थियो भन्नेबारे अनुसन्धानपछि प्रष्ट हुनेछ ।























