काठमाडौं- काठमाडौंको पशुपतिनाथमा आज महाशिवरात्रि पर्व मनाइँदै छ । महाशिवरात्रिको अवसरमा पशुपति मन्दिर दर्शन गर्न करिब ७ लाख दर्शनार्थी आउने आकलन पशुपति क्षेत्र विकाश कोषले गरेको छ ।
ठुलो सङ्ख्या दर्शनार्थी सहभागी हुने पशुपति क्षेत्रमा स्थानीय प्रशासनले सुरक्षा योजना बनाएर सुरक्षाकर्मी परिचालन गरेको छ ।
जिल्ला सुरक्षा समितिबाट निर्णय गरेर सुरक्षा योजना लागु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
पशुपति मन्दिर परिसरमा प्रहरीले कमान्ड पोस्ट बनाएको छ । बालबालिका हराउने, चोरी, डकैती र अन्य उच्छृङ्खल गतिविधि नियन्त्रण गर्न कमान्ड पोस्टमा परिसर काठमाडौंका एसपी पवन भट्टराई खटिनेछन् ।
पशुपति क्षेत्रको सुरक्षामा ३ हजार ७ सय प्रहरी परिचालन गर्नेगरी सुरक्षा योजना लागु गरिएको छ । निर्वाचन प्रहरीलाई पनि सुरक्षामा परिचालन गरिएको छ ।
नेपाल प्रहरी, सशस्त्र, राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी र महानगर प्रहरी सहित करिब ६ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।
पशुपति क्षेत्र विकाश कोषले दर्शन सहज बनाउन बिहानैदेखि चार वटै ढोका खुल्ला गरेको छ ।























