काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तसहित १० जनालाई ज्यान मार्ने धम्की दिएको आरोपमा प्रकाश पाठक पक्राउ परेका छन्।
काभ्रेको तेमाल गाउँपालिका-१ घर भई फिलिपिन्स बस्दै आएका ३४ वर्षीय पाठकलाई इन्टरपोलको समन्वयमा पक्राउ गरी नेपाल ल्याइएको हो।
प्रहरीले पाठकमाथि मुख्यगरी चार प्रकारका गम्भीर कसुरमा केन्द्रित रहेर अनुसन्धान अघि बढाएको छ। जसमा आपराधिक षडयन्त्र गर्न नहुने, आपराधिक लाभ (एक्सटर्सन), सङ्गठित अपराध निवारण ऐन र ज्यान मार्ने धम्की सम्बन्धी कसुरहरू समावेश छन्।
यी मुख्य अभियोगका अतिरिक्त पाठकविरुद्ध विगतमा पनि विभिन्न ६ वटा मुद्दा दर्ता भएको खुलेको छ। उनीमाथि केही सार्वजनिक अपराध, ठगी, आपराधिक लाभ र आपराधिक षडयन्त्रका छुट्टाछुट्टै मुद्दाहरू यसअघि नै विभिन्न मितिमा दर्ता भइसकेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पाठकले आफूलाई ’एक्सट्रिमिस्ट ग्रुप अफ नेपाल’ (ईजीएन) को अध्यक्ष बताउँदै सन् २०२५ अक्टोबर २२ मा इमेलमार्फत अख्तियार प्रमुख लगायतलाई ज्यान मार्ने धम्की दिएका थिए।
उनले धम्कीमार्फत आपराधिक लाभ (एक्सटर्सन) लिने प्रयास गरेको र सङ्गठित अपराध समेत गरेको प्रहरीको दाबी छ।
फिलिपिन्सबाट पक्राउ गरी ल्याइएकै दिन काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी उनीमाथि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।























