काठमाडौं- सामुदायिक प्रहरी सेवा केन्द्र बंगाबगडमा कार्यरत प्रहरी हवल्दार योगेन्द्र घर्तीको हत्याका अर्का आरोपित आशिष पाल पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार घटनाका मुख्य योजनाकार भनिएका आशिष पाललाई दुहुँ गाउँपालिकाको जङ्गलबाट पक्राउ गरिएको हो ।
यसअघि मंगलबार राति राजेन्द्र डडाललाई नौगाडको होपरिगाडबाट पक्राउ गरिएको थियो ।
घटनालगत्तै प्रहरीले २० वर्षीया दिपिका पाल, २१ वर्षीया पायल लुहार र सुरेन्द्र बमलाई पक्राउ गरेको थियो ।
मृतकको शवको जिल्ला अस्पताल दार्चुलामा पोष्टमार्टम गरेर अन्तिम दाहसंस्कार गरिएको छ ।
प्रहरी हवलदार घर्तीको टाउकोमा आठ वटा ठाउँमा धारिलो हतियार प्रहार गरिएको पोष्टमार्टम रिपोर्टले देखाएको छ ।
जिल्ला अस्पताल दार्चुलाका अनुसार, मृतकको टाउकोमा पछाडिबाट हतियार प्रहार गरिएको छ ।
घटनामा संलग्न रहेका पूजा बियर बारका सञ्चालक जानकी पाल र मनिस पाल भने अझै फरार रहेको छन् ।
उनीहरूको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।























