images
images
  • सस्तोमा सुन दिने लोभ देखाएर ६० लाख लुटपाट, ४ जना पक्राउ

    काठमाडौं- ‘सस्तो मूल्यमा बिलसहितको सुन दिन्छु’ भन्दै प्रलोभनमा पारेर ६० लाख रुपैयाँ लुटपाट गर्ने गिरोहका चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उपत्यकाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो ।

    गत माघ १४ गते दिउँसो लुटेरा समूहले पीडितलाई काठमाडौं महानगरपालिका–१४ स्थित घ्याखेलमा बोलायो । सस्तोमा सुन पाउने लोभमा पीडित ६० लाख रुपैयाँ नगद बोकेर तोकिएको स्थानमा पुगे । तर, त्यहाँ सुन त थिएन, बरु ८–९ जनाको समूहले पीडितलाई घेराबन्दीमा पार्‍यो । उक्त समूहले पीडितलाई नियन्त्रणमा लिई कुटपिट गरेर उनीसँग भएको ६० लाख रुपैयाँ लुटेर फरार भएको थिए ।

    लुटपाटको उजुरीपछि अनुसन्धानमा खटिएको प्रहरी टोलीले घटनामा संलग्न चार जनालाई पक्राउ गर्न सफल भएको छ ।

    पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१० घर भई भक्तपुर बस्ने २७ वर्षीय दीपक आले मगर, रसुवाको नौकुण्ड गाउँपालिका–३ घर भई काठमाडौंको तार्केश्वर बस्ने ३२ वर्षीय विक्रम तामाङ र नुवाकोटको ककनी गाउँपालिका–७ घर भई तार्केश्वर बस्ने २८ वर्षीय जीवन तामाङ रहेका छन् ।

    उनीहरूलाई माघ १८ गते पक्राउ गरिएको हो ।

    त्यस्तै, नवलपरासीको कावासोती नगरपालिका–१३ घर भई काठमाडौंको एयरपोर्ट बस्ने ३८ वर्षीय कर्णबहादुर सुनारलाई माघ २० गते टेकुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    प्रहरीले पक्राउ परेकाहरूको साथबाट लुटिएको रकममध्ये ९ लाख ४२ हजार रुपैयाँ बरामद गरेको छ ।

    यसका साथै ५ थान मोबाइल, घटनामा प्रयोग भएका ३ थान मोटरसाइकल र विभिन्न कम्पनीका १३ थान सिमकार्ड पनि बरामद भएको छ ।

    पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त कालिमाटी पठाइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images