काठमाडौं– भदौ २३–२४ मा भएको जेनजी आन्दोलनले देशको शासन व्यवस्था, अर्थतन्त्र र सामाजिक संरचनामा दीर्घकालीन नकारात्मक प्रभाव पारेको सरकारी प्रतिवेदनले देखाएको छ ।
अर्थ मन्त्रालयको चालू आर्थिक वर्षको बजेट अर्धवार्षिक मूल्यांकन प्रतिवेदनअनुसार दुई दिनको आन्दोलनबाट सार्वजनिक र निजी क्षेत्र गरी कुल ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको छ, जुन जीडीपीको १.३८ प्रतिशत र वार्षिक बजेटको ४.३० प्रतिशत बराबर हो ।
आन्दोलनमा ७७ जनाको मृत्यु र २ हजार ४२९ जना घाइते भएका छन् ।
कुल क्षतिमध्ये ५३ प्रतिशत सार्वजनिक, ३० प्रतिशत निजी र ७ प्रतिशत सामुदायिक तथा अन्य क्षेत्रको रहेको उल्लेख छ ।
सार्वजनिक भवन, सवारीसाधन र नगद जिन्सीमा ठूलो क्षति पुगेको छ भने निजी क्षेत्रमा पनि अर्बौं रुपैयाँ बराबरको नोक्सानी भएको छ ।
आर्थिक गतिविधि ठप्प हुँदा १३ अर्ब ८७ करोड रुपैयाँ बराबरको उत्पादन घाटा र २ हजार ३५३ जनाले रोजगारी गुमाएको प्रतिवेदनमा जनाइएको छ ।
राष्ट्रिय योजना आयोगले क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि करिब ३६ अर्ब ३० करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरेको छ ।























