सिरहा– सिरहा कारागारभित्र अनुगमनको क्रममा अवैध हतियार र गोली बरामद भएको छ ।
जिल्ला सुरक्षा समितिले सोमबार गरेको अनुगमनका क्रममा एक थान कटुवा पेस्तोल र दुई राउन्ड गोली फेला परेको हो ।
जेलभित्र नाइके इन्द्रजित यादवलाई पक्राउ गरेको विषयमा विवाद बढेपछि कैदीबन्दीले तोडफोड र आगजनी गरेका थिए ।
घटनापछि सुरक्षाकर्मी पुगेको बेला तलासी गर्दा अवैध हतियार र गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
यस घटनामा नाइके यादवसहित १६ जनालाई पक्राउ गरी हिरासतमा राखिएको छ ।
अनुगमनमा नगद एक लाख २० हजार रुपैयाँ, चुरोट, सुर्ती र अन्य प्रतिबन्धित सामग्री पनि जफत गरिएको छ ।
डिएसपी रमेश बहादुर पालका अनुसार जेलभित्र १० जना कैदीबन्दीलाई आँखामा पट्टी बाँधेर घरेलु हतियारले कुटपिट गरिएको सूचना पाएपछि सेना सहितको टोली कारागार पुगेको थियो ।
कुकुरसहितको तलासीमा घरेलु हतियार पनि बरामद गरिएको छ ।























