images
images
  • पूर्वगोर्खा सैनिकको पेन्सनमा राष्ट्रपति पौडेलको चासो

    काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वब्रिटिस गोर्खा सैनिकको पेन्सन र कल्याणसम्बन्धी विषयमा नेपाल–बेलायतबीच भइरहेका छलफलप्रति चासो व्यक्त गरेका छन् ।

    उनले अवकाशप्राप्त सैनिकका जायज गुनासाहरू द्विपक्षीय कूटनीतिक संयन्त्रमार्फत छिटो समाधान गर्नुपर्ने बताएका छन् ।

    सोमबार बेलायती मेजर जनरल जेरल्ड एम स्ट्रिकलेन्ड नेतृत्वको टोलीबाट गोर्खा ब्रिगेडको सन् २०२५ को वार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले पेन्सन र कल्याणसम्बन्धी विषयमा ध्यानाकर्षण गराए ।

    उनका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय मञ्चमा नेपाल–बेलायत सहकार्य र संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा साझा धारणा कायम रहेको पनि उल्लेख गरे ।

    सन् १९९७ अघि अवकाश पाएका गोर्खा सैनिकहरूले बेलायती सैनिकसरह पेन्सन र सुविधाको माग गर्दै लामो समयदेखि आन्दोलन गर्दै आएका छन् ।

    हाल बेलायतस्थित कार्यवाहक नेपाली राजदूत विपिन दवाडीले यसबारे बेलायती अधिकारीहरूसँग चरणबद्ध छलफल गरिरहेका छन् ।

    पूर्वगोर्खा सैनिकका लागि गठित सुझाव कार्यदलले सन् २०७४ मा समान पेन्सन र सुविधा उपलब्ध गराउन नेपाल–बेलायत सरकारलाई प्रतिवेदन बुझाएको थियो ।

    राष्ट्रपति पौडेलले ब्रिटिस गोर्खाले नेपाल–बेलायत सम्बन्ध मजबुत बनाएको बताए ।

    सो अवसरमा मेजर जनरल स्ट्रिकलेन्डले गोर्खा सैनिकप्रति बेलायती जनताको सम्मान रहेको बताए ।

    कार्यक्रममा नेपालका लागि बेलायती राजदूत रब पेन, ब्रिटिश सैनिक सहचारी कर्णेल डेन रेक्स, ब्रिगेड अफ गोर्खाका कर्णेल डेभिड रोबिन्सन र सहायक सैन्य सहचारी मेजर अशोक गुरुङ पनि उपस्थित थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images