काठमाडौं– निर्वाचन आयोगले मतदाता सहभागिता बढाउन र बदर मत कम गर्न ३–१७ फागुनसम्म मतदाता शिक्षा विशेष कार्यक्रम सुरु गर्ने भएको छ ।
कार्यक्रमअन्तर्गत आमनागरिकलाई मतदान प्रक्रिया, मताधिकारको महत्व, मतपत्र प्रयोग, गोप्य मतदान, निर्वाचन आचारसंहिता र भ्रामक सूचनाबाट जोगिने उपायबारे जानकारी दिइनेछ ।
आयोगले देशभरका ६,७४३ वडामा स्वयंसेवक परिचालन गर्नेछ ।
स्वयंसेवकले घरदैलो र विद्यालयस्तरमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्नेछन् ।
यसका लागि प्रत्येक वडामा एक जना योग्य स्वयंसेवक नियुक्त हुनेछन् र १० हजार पारिश्रमिक दिइनेछ ।
कार्यक्रमले आमसञ्चार, सामाजिक सञ्जाल र मोबाइल/फोन मार्फत पनि जानकारी प्रवाह गर्नेछ ।
साथै, “म निर्वाचनमा सहभागी हुन्छु” अभियान अन्तर्गत राष्ट्रपति, प्रधानमन्त्री लगायत व्यक्तित्वबाट सन्देश प्रवाह गरिनेछ ।
स्वयंसेवकका १२ मुख्य काममा घरदैलो भ्रमण, बालबालिकालाई मतदान शिक्षा, नमुना मतपत्रद्वारा जानकारी, सामाजिक सञ्जाल प्रयोग, निर्वाचन आचारसंहिता व्याख्या, प्रश्न–जवाफ, र दैनिक प्रतिवेदन तयार पार्ने कार्य समावेश छन् ।
निर्वाचन आयोगका प्रवक्ता नारायण भट्टराईका अनुसार, यस कार्यक्रमले जिम्मेवार र सचेत मतदान संस्कृतिको विकास गर्ने र मतदानमा आममतदाताको सहभागिता बढाउने उद्देश्य राखेको छ ।























