काठमाडौं– नेपालमा स्मार्टफोन र इन्टरनेटको पहुँच व्यापक भए पनि डिजिटल सीप र प्राविधिक साक्षरता कमजोर रहेको तथ्यांकले देखाएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयको ‘नेपाल बहुसूचक सर्वेक्षण २०२४/२५’ अनुसार ८५ प्रतिशतभन्दा बढी घरधुरीमा स्मार्टफोन र ८२ प्रतिशतमा इन्टरनेट भए पनि कम्प्युटर स्वामित्व भने १६.८ प्रतिशतमा मात्र सीमित छ ।
एक्सेलजस्ता स्प्रेडसिट प्रयोग गर्न सक्ने जनसंख्या १० प्रतिशत हाराहारी, प्रोग्रामिङ जान्ने ३ प्रतिशत र प्राइभेसी सेटिङ मिलाउन सक्ने करिब २० प्रतिशत मात्र छन् ।
यसले नेपाल ‘डिजिटल उपभोक्ता’ त बने पनि ‘डिजिटल उत्पादक’ बन्न अझै संघर्षरत रहेको संकेत गर्छ ।
लैंगिक, आर्थिक र भौगोलिक आधारमा ठूलो डिजिटल खाडल देखिएको छ ।
पुरुषको तुलनामा महिलाको प्राविधिक सीप कम छ भने धनी घरधुरीमा कम्प्युटर स्वामित्व ५३ प्रतिशत हुँदा गरिबमा १–२ प्रतिशत मात्र छ ।
सहरी क्षेत्रमा इन्टरनेट पहुँच ८६ प्रतिशतभन्दा बढी भए पनि ग्रामीण क्षेत्रमा करिब ७३ प्रतिशतमा सीमित छ ।
प्रदेशगत रूपमा बागमती अगाडि र कर्णाली सबैभन्दा पछाडि देखिएको छ ।




















