काठमाडौं– एपस्टीन फाइल्ससम्बन्धी विवादका कारण बेलायतका प्रधानमन्त्री कीयर स्टार्मरको पद संकटमा परेको छ ।
लेबर पार्टीभित्रैबाट उनको राजीनामा माग भइरहेको छ ।
तर स्टार्मरले राजीनामा नदिने स्पष्ट अडान लिएका छन् ।
यसैबीच, नयाँ प्रधानमन्त्रीको दौडमा गृहमन्त्री शबाना महमूद, स्वास्थ्य मन्त्री वेस स्ट्रिटिङ र पूर्व उपप्रधानमन्त्री एन्जेला रेनरको नाम अगाडि आएको छ ।
शबाना महमूद पाकिस्तान प्रशासित कश्मीरको मीरपुर मूलकी हुन् ।
सन् २०२५ मा गृहमन्त्री बनेकी उनी पहिलो मुस्लिम महिला हुन् ।
यदि उनी प्रधानमन्त्री बनिन् भने, बेलायतकी पहिलो मुस्लिम प्रधानमन्त्री बन्नेछिन् ।
बेलायतमा एपस्टीन फाइल्ससँग जोडिएको विवाद यति चर्कियो कि प्रधानमन्त्री स्टार्मरका सबैभन्दा विश्वासिला सहयोगी तथा डाउनिङ स्ट्रिटका चिफ अफ स्टाफ मोर्गन म्याकस्वीनीले राजीनामा दिनुप¥यो ।
म्याकस्वीनीमाथि यौन अपराधी जेफ्री एपस्टीनलाई समर्थन गर्ने पीटर मन्डेलसनलाई अमेरिकामा बेलायतको राजदूत बनाएर पठाएको आरोप लागेको छ ।
म्याकस्वीनीले यो नियुक्ति गलत भएको स्वीकार गरेका छन् ।
म्याकस्वीनीले मन्डेलसनले जेल गएकोपछि पनि जेफ्री एपस्टीनलाई समर्थन गरेको कुरा आफूलाई थाहा भएको स्वीकार गरे ।
मन्डेलसनमाथि बेलायतका व्यवसाय सचिव रहेका बेला एपस्टीनलाई बजारसम्बन्धी संवेदनशील जानकारी दिएको आरोप पनि लागेको छ ।
म्याकस्वीनीका अनुसार यस निर्णयले पार्टी, देश र राजनीतिप्रति जनताको विश्वास कमजोर बनाएको छ ।
उता विपक्षी दलहरूले प्रधानमन्त्री स्टार्मरले यस प्रकरणको जिम्मेवारी लिँदै राजीनामा दिनुपर्ने माग गरेका छन् । –एजेन्सी


विश्व खबर 




















