काठमाडौं– दुर्गा प्रसाईं केहीअघिसम्म मेडिकल व्यवसायीका रूपमा चिनिन्थे ।
झापामा मेडिकल कलेज सम्बन्धन विवादपछि उनी राजनीतिमा सक्रिय बने र अहिले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान’का संयोजकका रूपमा २१ फागुनको चुनावअगाडि एक्लै संगठित चुनौतीका रूपमा देखिएका छन् ।
माघ महिनामै उनी दुईपटक पक्राउ परे र पछिल्लो पटक हाजिरी जमानीमा रिहा भए ।
जेनजी आन्दोलनपछि अन्तरिम सरकार गठनको कसरत चलिरहेका बेला सेनापति अशोकराज सिग्देलले प्रसाईंलाई जंगी अड्डामै बोलाएर परामर्श लिएको घटना चर्चामा रह्यो ।
उनले आफूलाई प्रधानमन्त्रीको अफर आएको दाबी पनि गरेका थिए ।
यद्यपि जेनजी समूहले भने उनलाई आन्दोलनको पक्षकार मानेन ।
प्रसाईंले २१ फागुनको निर्वाचन नहुने र चुनावअघि हिन्दू अधिराज्य घोषणा हुनुपर्ने माग राख्दै आएका छन् ।
सरकारसँग पटक–पटक वार्ता भए पनि उनका राजनीतिक माग संवैधानिक सीमाभन्दा बाहिरका भएकाले सहमति हुन सकेको छैन ।
चितवनलगायत स्थानका कार्यक्रममा प्रशासनसँग तनावसमेत देखिएको थियो ।
निर्वाचन आयोगविरुद्ध अभिव्यक्ति र आचारसंहिता उल्लंघनका आरोपमा उनी विभिन्न समयमा पक्राउ परेका हुन् ।
वीरगन्जमा कार्यक्रम गर्न जाँदा पनि बाटोबाटै नियन्त्रणमा लिइएको थियो ।
सुरक्षा निकायले उनका गतिविधिलाई सम्भावित सुरक्षा चुनौतीका रूपमा हेरिरहेका छन् ।
सरकारले प्रसाईंप्रति दुई रणनीति अपनाएको देखिन्छ, एकातिर संवादमार्फत शान्त राख्ने प्रयास, अर्कोतर्फ दायराबाहिर गए कानुनी कारबाहीको चेतावनी ।
प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्याल संवादमा सक्रिय देखिए पनि गिरफ्तारीलाई नियमित प्रहरी प्रक्रिया बताउँदै आएका छन् ।























