images
images
  • कस्तो रहला आगामी ३ दिनसम्मको मौसम ?

    काठमाडौं– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    यसका कारण तराईका अधिकांश स्थान तथा उपत्यकाहरूमा हुस्सु–कुहिरो लागेको छ भने हिमाली तथा उच्च पहाडी क्षेत्रमा आंशिक बदली देखिएको छ ।

    महाशाखाका अनुसार विशेषगरी तराई भू–भागका केही स्थानमा मध्यान्नसम्म हुस्सु तथा कुहिरोको सम्भावना रहेकाले सर्वसाधारण तथा सम्बन्धित निकायलाई सतर्क रहन आग्रह गरिएको छ ।

    यातायात, हवाई उडान तथा दैनिक जनजीवनमा असर पर्न सक्ने भएकाले पछिल्लो मौसमी सूचनाको जानकारी लिन विभागले अनुरोध गरेको छ ।

    तीन दिनको मौसम पूर्वानुमान

    माघ २६ गते (सोमबार)

    दिउँसो : तराईका केही स्थानमा हुस्सु–कुहिरो रहनेछ ।

    सुदूरपश्चिमसहित देशका पहाडी तथा हिमाली भू–भागमा सामान्य बदली रहने र बाँकी भू–भागको मौसम मुख्यतया सफा रहनेछ ।

    कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ ।

    राति : तराईका थोरै स्थानमा हुस्सु रहनेछ ।

    कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्य बदली र बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ ।

    उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना कायमै रहनेछ ।

    माघ २७ गते (मंगलबार)

    दिउँसो : तराईका केही स्थानमा हुस्सु–कुहिरोको अवस्था रहनेछ ।

    पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली तथा अन्य स्थानमा मुख्यतया सफा मौसम रहनेछ ।

    कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।

    राति : तराईका थोरै स्थानमा हुस्सु रहनेछ ।

    उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा सामान्यतया सफा मौसम रहने पूर्वानुमान गरिएको छ ।

    माघ २८ गते (बुधबार)

    दिउँसो : तराईका केही स्थानमा हुस्सु–कुहिरो रहनेछ। पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मुख्यतया सफा मौसम रहनेछ ।

    कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना देखिएको छ ।

    राति : तराईका थोरै स्थानमा हुस्सु रहनेछ ।

    उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली तथा अन्य स्थानमा सफा मौसम रहनेछ ।

    कोशी, बागमती र गण्डकी प्रदेशका उच्च क्षेत्रमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको छ ।

    महाशाखाले मौसम पूर्वानुमान बुलेटिन दैनिक बिहान ८ बजे र साँझ ६ बजे अद्यावधिक गर्ने जनाएको छ ।

    त्यस्तै हिउँदभर तराई क्षेत्रको हुस्सु, कुहिरो तथा शीतलहर सम्बन्धी विशेष बुलेटिन बिहान ९:३० बजे सार्वजनिक हुँदै आएको छ ।

    थप जानकारीका लागि मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभाग, बबरमहल, काठमाडौंसँग सम्पर्क गर्न सकिने विभागले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images