काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्रमाथि प्रहार गर्ने भूराजनीतिक चलखेल भइरहेको बताएका छन् ।
सोमबार काठमाडौं–५ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले सामाजिक सञ्जालमा फण्डा गर्नेहरूसँग स्पष्ट योजना र एजेन्डा नभएको टिप्पणी गरे ।
विश्व साम्राज्यवादले पपुलिजममार्फत विभिन्न देशमा लोकतन्त्र र समाजवादविरुद्ध आक्रमण गरिरहेको र त्यही प्रवृत्ति नेपालमा पनि दोहोरिन खोजिएको उनको भनाइ थियो ।
प्रचण्डले अन्तर्राष्ट्रिय हस्तक्षेपको प्रतिवाद गर्न जनताको बल आवश्यक रहेको उल्लेख गर्दै नयाँ संकल्पसहित नेकपा निर्माण गरिएको बताए ।
नेपालका सबै कम्युनिस्ट शक्तिलाई समेट्ने उद्देश्यले पार्टी गठन गरिएको र हाल २६ दल तथा हजारौँ कार्यकर्ता आबद्ध भइसकेको उनले दाबी गरे ।
साथै, नेकपा स्थापना कालदेखि नै निर्वाचनमुखी रहेको र पार्टी दिनदिनै सुदृढ बन्दै गएको उनले बताए ।























