काठमाडौं– प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा चार दशक लामो राजनीतिक विरासत बोकेका पूर्वप्रधानमन्त्रीमध्ये केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल प्रत्यक्ष चुनावी मैदानमा सक्रिय देखिएका छन् ।
डा. बाबुराम भट्टराई भने उम्मेदवारी फिर्ता लिएर पितृशोकमा छन् ।
शेरबहादुर देउवा, झलनाथ खनाल र लोकेन्द्रबहादुर चन्द प्रत्यक्ष चुनावी गतिविधिमा देखिँदैनन् ।
देउवा महाराजगन्जस्थित निवासमै शान्त बसेका छन् भने खनाल घाइते श्रीमतीको हेरचाहमा व्यस्त छन् ।
चन्द नयाँ पुस्ताको राजनीतिक अभ्यास नियालिरहेका छन् ।
कांग्रेसमा गगन थापा सभापति बनेपछि देउवा सक्रिय राजनीतिबाट केही टाढा देखिए पनि उनी रणनीति निर्माणमा रहेको दाबी उनका निकटस्थहरूको छ ।
थापा सर्लाही–४ बाट उम्मेदवार रहँदै कांग्रेसलाई बहुमत दिलाउने दाउमा छन् ।
एमाले अध्यक्ष ओली झापा–५ बाट उम्मेदवार छन्, जहाँ उनको प्रतिस्पर्धा रास्वपाका बालेन्द्र शाहसँग छ ।
यो भिडन्तलाई पुरानो र नयाँ पुस्ताबीचको प्रतीकात्मक प्रतिस्पर्धाका रूपमा हेरिएको छ ।
प्रचण्ड रुकुम पूर्वबाट तथा माधव नेपाल रौतहट–१ बाट चुनाव लडिरहेका छन् ।
गोरखा–२ मा भट्टराईको समर्थन कसलाई जाने भन्ने अन्योलले मत विभाजन हुने संकेत देखिएको छ ।
समग्रमा यसपटकको निर्वाचनमा पुराना र नयाँ नेतृत्वबीचको प्रतिस्पर्धा प्रमुख आकर्षण बनेको छ ।























