काठमाडौं– नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली चुनावी प्रचारका लागि झापा पुगेका छन् ।
उम्मेदवारी दर्तापछि काठमाडौं फर्केर प्रचण्ड र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग तालमेलबारे छलफल गरे पनि ठोस सहमति नभएपछि उनी पुनः झापा फर्केर माहोल बनाइरहेका छन् ।
स्रोतका अनुसार नेकपासँग सहकार्य टुंगो नलागे पनि राप्रपा र मधेसी दलहरूसँग भने अझै सम्भावना खुला राखिएको छ ।
ओलीले झापा–५ मा सुकुम्बासी बस्ती केन्द्रित भेटघाटलाई प्राथमिकता दिएका छन्, जहाँ यसअघि बालेन शाह पनि पुगेका थिए ।
कांग्रेसभित्र ओलीप्रति दोहोरो संकेत देखिएको छ ।
उनी देउवाप्रति नरम देखिए पनि गगन थापाप्रति कठोर छन् ।
यद्यपि कांग्रेस नेतृत्वले कुनै पनि तालमेल नहुने स्पष्ट पारेको छ ।
देउवा पक्षका नेताहरूले पनि ओलीलाई सहयोग गर्ने सम्भावना नकारेका छन् ।
झापा–५ मा श्रम संस्कृति पार्टीका समीर तामाङको उम्मेदवारीले मत विभाजन हुन सक्ने आँकलनबीच ओलीले धरानका पूर्वमेयर हर्क साम्पाङसँग सहकार्यको सम्भावना पनि खुला राखेको विश्लेषण छ ।
सुनसरी–१ मा हर्कलाई सहयोग गरेर झापामा समर्थन लिन सक्ने चर्चा भए पनि दुवै पक्षले औपचारिक रूपमा इन्कार गरेका छन् ।
राजनीतिक समीकरणअनुसार ओलीले अन्तिम समयमा राप्रपा वा श्रम संस्कृति पार्टीमध्ये कसैसँग गठजोड गर्न सक्ने आकलन गरिँदै आएको छ ।
एमाले नेताहरू भने पार्टी आफ्नै बलमा चुनाव जित्ने दाबी गरिरहेका छन् ।


विश्व खबर 




















