काठमाडौं- काठमाडौं उपत्यकामा फेरि वायु प्रदूषण अस्वस्थ तहमा पुगेको छ ।
आइतबार काठमाडौं विश्वका सबैभन्दा प्रदूषित सहरमध्ये सातौं स्थानमा सूचीकृत भएको हो ।
हावाको गुणस्तर मापन गर्ने एअर क्वालिटी इन्डेक्सअनुसार आइतबार दिउँसो इजिप्टको कायरो २७१ एक्युआईसहित विश्वकै सबैभन्दा प्रदूषित सहर हुँदा काठमाडौं उपत्यकाको वायु प्रदूषण १७५ एक्युआई पुगेको थियो ।
वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार मौसम सुख्खा रहनु, हावा नचल्नु, उद्योग–कलकारखाना सञ्चालन र विकास निर्माणको तीव्रताका कारण वायु प्रदूषण बढेको हो । औद्योगिक गतिविधिबाट निस्कने धुवाँ–धुलो, सीमापार (क्रस बोर्डर) प्रदूषण र छिमेकी मुलुक भारतबाट आउने प्रदूषणले पनि प्रभाव पारेको उनले बताए ।
उनले भने, ‘पानी नपरेसम्म प्रदूषण अझै बढ्ने सम्भावना छ ।’ सुवेदीले वातावरणमैत्री विकासमा जोड दिन सरोकारवाला निकायलाई सुझाव दिएको जानकारी दिए ।
विपद् व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीका अनुसार ० देखि ५० एक्युआई राम्रो (हरियो संकेत), ५१ देखि १०० सम्म सचेत रहनुपर्ने (पहेंलो संकेत) मानिन्छ ।
त्यस्तै, १०१ देखि १५० एक्युआई अस्वस्थ मानिन्छ, जसले श्वासप्रश्वास र मुटुभोगी बिरामीलाई असर गर्छ । १५१ देखि २०० एक्युआई सबैका लागि अस्वस्थ, २०१ देखि ३०० एक्युआई धेरै अस्वस्थ तथा ३०० भन्दा माथि पुगेको अवस्था अत्यन्तै खतरनाक मानिन्छ ।


विश्व खबर 



















