काठमाडौं- नेपालको पर्वतारोहण तथा ट्रेकिङ क्षेत्रमा हुने फेक रेस्क्यु प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले लाजिम्पाटस्थित श्रृद्धि इन्टरनेसनल हस्पिटलका सञ्चालक ४४ वर्षीय डा. गिर्वाणराज तिमिल्सिनालाई पक्राउ गरेको छ।
पर्वत जिल्लाको मोदी गाउँपालिका-२ स्थायी घर भएका डा. तिमिल्सिनालाई काठमाडौं जिल्ला अदालतको अनुमतिमा आइतबार पक्राउ गरेको हो।
प्रहरीका अनुसार डा. तिमिल्सिनाको हस्पिटल र विभिन्न रेस्क्यू फ्लाइट कम्पनीहरू माउन्टेन रेस्क्यू सर्भिस, एभरेष्ट एक्सपेरियन्स र नेपाल चार्टर सर्भिसको मिलेमतोमा यो ठगी धन्दा चलिरहेको थियो ।
उनीहरूले पर्यटन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण र विमानस्थलका अभिलेखहरू सच्याई प्यासेन्जर एण्ड कार्गो म्यानिफेस्टको व्यहोरा नै किर्ते गर्ने गरेका थिए ।
उद्धार गरिएका भनिएका विदेशी पर्यटकहरूलाई बीमा पोलिसीको शर्त बमोजिम अनिवार्य अस्पताल भर्ना गरेको देखाई नक्कली बिल, भर्ना तथा डिस्चार्ज रिपोर्ट र मेडिकल रिपोर्टहरू तयार पार्ने गरेका थिए।
यसरी तयार पारिएका नक्कली कागजातका आधारमा बीमा रकम दाबी गरी हस्पिटल र कम्पनीले अवैध आर्थिक लाभ लिने गरेका थिए।


विश्व खबर 



















