काठमाडौं- सीमा सुरक्षा बैठकका क्रममा सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक (एसपी) राजेश घिमिरे अचेत भएर ढलेका छन् ।
मोरङको विराटचोकमा शुक्रबार दिउँसो नेपाल भारत डिआईजीस्तरीय सुरक्षा बैठक चलिरहेका बेला उनी अचानक ढलेका थिए ।
सशस्त्र प्रहरी बल मोरङका प्रमुखसमेत रहेका घिमिरेलाई उपचारका लागि बुढीगंगास्थित विराट मेडिकल कलेज पुर्याइएको थियो । उच्च रक्तचापका कारण ढलेका उनको जिब्रो काटिएको थियो ।
घिमिरेको स्वास्थ्य अवस्था थप जटिल बनेपछि उनलाई भेन्टिलेटरमा राखिएको छ । उनको अवस्था ‘क्रिटिकल’ रहेको अस्पतालले जनाएको छ ।
सशस्त्र प्रहरी बल नं. १ बराह वाहिनी पकली, सुनसरीका डिआइजी कुमार न्यौपानेले दिउँसो बैठक चलिरहेका बेला घिमिरे ढलेपछि अस्पताल भर्ना गरिएको बताए । ‘बैठककै क्रममा उहाँ अचानक ढल्नुभएको हो,’ डिआइजी न्यौपानेले भने, ‘अवस्था अलि गम्भीर रहेको जानकारी छ ।’
एसपी घिमिरेको मोरङबाट मकवानपुरस्थित नम्बर ३ बाहिनी गाडीमाई मुख्यालयमा सरुवा भएको थियो । मोरङबाट उनी भोलि बिदा भएर जाने तयारीमा थिए ।























