images
images
  • सवारी दुर्घटनामा परी एक प्रहरी असईको मृत्यु, एक जना गम्भीर घाइते

    काठमाडौं- धनुषाको धनुषाधाम नगरपालिका-६ मालटोलस्थित पूर्व-पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा एक जना प्रहरी असईको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।

    जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार बिहिबार साँझ करिब ६ः२० बजेको समयमा इटहरीबाट अमलेखगञ्जतर्फ जाँदै गरेको ना ७ ख ३७१८ नम्बरको तेल ट्याङ्करले सोही दिशातर्फ गइरहेका प्र २–०३–००१ प ८७२० र प्र २–०१–००३ प ९९९३ नम्बरका दुईवटा मोटरसाइकललाई ठक्कर दिएको हो ।

    दुर्घटनामा प्र २–०३–००१ प ८७२० नम्बरको मोटरसाइकल चालक, इ.प्र.का. चित्लाङ मकवानपुर दरबन्दी भई हाल इ.प्र.का. ढल्केवर धनुषामा लेखा प्रमुखका रूपमा कार्यरत प्रहरी असई देवानन्द फनैत गम्भीर घाइते भएका थिए।

    उनलाई उपचारका लागि मोडल अस्पताल लालगढ धनुषा पठाइएकोमा चिकित्सकले जाँचका क्रममा साँझ करिब ७ः०० बजे मृत घोषणा गरेका हुन्।

    त्यस्तै, प्र २–०१–००३ प ९९९३ नम्बरको मोटरसाइकल चालक धनुषाधाम नगरपालिका-९ निवासी करिब ४५ वर्षीय रामकिशोर महतो पनि गम्भीर घाइते भएका छन्।

    उनलाई थप उपचारका लागि जनकपुरतर्फ पठाइएको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार दुर्घटनामा संलग्न तेल ट्याङ्कर, दुवै मोटरसाइकल तथा ट्याङ्कर चालक सुनसरीको उर्लाबारी नगरपालिका-१ निवासी करिब ३६ वर्षीय दुर्गा माझीलाई इ.प्र.का. ढल्केवर धनुषाको नियन्त्रणमा लिइएको छ।

    घटनाबारे थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images