images
images
  • सम्बोधनमार्फत प्रधामन्त्री कार्कीले दिन खोजेका ५ सन्देश

    काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभामा सदाचार नीतिसम्बन्धी प्रतिवेदनमाथि छलफलका क्रममा सम्बोधन गर्दै सरकार सुशासन, पारदर्शिता र संवैधानिक व्यवस्थाको पुनर्स्थापनाप्रति प्रतिबद्ध रहेको बताएकी छन् ।

    जेनजी युवाहरूको आन्दोलनपछि बनेको अन्तरिम सरकारको नेतृत्व सम्हाल्दै आफू पदलोलुपताभन्दा राष्ट्रलाई संकटबाट जोगाउने दायित्वका कारण अघि बढेको उनले उल्लेख गरिन् ।

    उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई नयाँ राजनीतिक संस्कृतिको प्रस्थानबिन्दु बनाउने आह्वान गर्दै स्वच्छ र निष्पक्ष चुनावका लागि सबै पक्षसँग सहयोग मागिन् ।

    भ्रष्टाचार नियन्त्रणका लागि ‘गभर्नेन्स ब्लूप्रिन्ट’ अन्तिम चरणमा पुगेको जानकारी दिँदै सदाचार व्यवहारमै देखिनुपर्नेमा जोड दिइन् ।

    साथै जेनजी आन्दोलनका सहिदप्रति सम्मान र घाइतेप्रति सहानुभूति व्यक्त गर्दै सरकारले राहत र उपचारलाई प्राथमिकतामा राखेको बताइन् ।

    १. संवैधानिक व्यवस्था र लोकतन्त्र पुनःस्थापना प्राथमिकता

    उनले आफ्नो प्रधानमन्त्री पद कुनै व्यक्तिगत महत्वाकांक्षाले नभई देशलाई अस्थिरता र द्वन्द्वबाट जोगाई संवैधानिक मार्गमा फर्काउन लिएको स्पष्ट पारिन् । प्रतिनिधि सभाको निर्वाचनमार्फत जननिर्वाचित सरकारलाई शक्ति सुम्पने प्रतिबद्धता दोहोर्‍याइएको छ ।

    २. जेनजी आन्दोलनको भावनाको सम्मान र सुधारको स्वीकारोक्ति

    युवा आन्दोलनलाई राज्यको कमजोरी, भ्रष्टाचार र शासकीय संवेदनहीनताको प्रतिविम्बको रूपमा स्वीकार गर्दै त्यसले उठाएका मुद्दा वैध र सुधारका लागि आवश्यक चेतावनी भएको सन्देश दिएकी छन् ।

    ३. सुशासन, पारदर्शिता र भ्रष्टाचार न्यूनीकरणमा प्रतिबद्धता

    सरकारले ‘सुशासनको मार्गचित्र’ तयार गरिरहेको, सार्वजनिक निकायलाई पारदर्शी र उत्तरदायी बनाउने र सदाचारलाई व्यवहारमै उतार्ने अठोट व्यक्त गरिएको छ ।

    मितव्ययिता र अनावश्यक सुविधा त्यागको कुरा पनि जोड दिइएको छ ।

    ४. शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय निर्वाचनको आह्वान

    आगामी निर्वाचन केवल नियमित प्रक्रिया नभई नयाँ राजनीतिक संस्कृतिको सुरुवात बन्नुपर्ने भन्दै सबै पक्षलाई आचारसंहिता पालना गरी भयरहित वातावरणमा चुनाव सम्पन्न गर्न अपिल गरिएको छ ।

    ५. संस्थागत सुधार र दीर्घकालीन स्थिरताको सन्देश

    अस्थिरताबाट पाठ सिकेर भविष्यमा नागरिक सडकमा आउन नपर्ने अवस्था सिर्जना गर्न, विधिको शासनप्रति निष्ठा राख्न र भत्किएका संस्थालाई पुनः सुदृढ बनाउने दीर्घकालीन लक्ष्य प्रस्तुत गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images