काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलअन्तर्गत वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत तीन कर्मचारी घुससहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भन्सार अधिकृत इन्द्र न्यौपाने, कार्यालय सहयोगी गणेश प्रसाद पुडासैनी र नासु छवि प्रसाद रिजाल रहेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरूलाई डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयबाट आइतबार पक्राउ गरेको हो ।
पुडासैनीबाट घुसको १० हजार र अन्य १ लाख ३६ हजार ४२० गरी कुल १ लाख ४६ हजार ४२० रुपैयाँ बरामद भएको छ भने रिजालको साथबाट घुसको २० हजारसहित स्रोत नखुलेको २ लाख ६८ हजार २८८ रुपैयाँ फेला परेको छ ।
कुरियरमार्फत विदेश पठाइने सामानमा घुस मागेको सूचनाका आधारमा अख्तियारले छापा मारेको जनाएको छ ।
घटनास्थलबाट २३ थान मोबाइलसमेत बरामद गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्






















