images
images
  • चुनावअघि नै हारको मानसिकतामा ओली-प्रचण्ड : नयाँ दलसँग डराए, दिए यस्तो अभिव्यक्ति

    काठमाडौं- पछिल्ला केही दिनयता नेकपा(एमाले) र नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरू हतास मनस्थितिमा देखिएका छन् ।

    उम्मेदवारी दर्तापछि आ–आफ्नो निर्वाचन क्षेत्रका सार्वजनिक कार्यक्रमहरूमा सहभागी हुँदै र मतदाताहरूसँग भेटवार्तामा व्यस्त भएका नेताहरूले मतदातालाई ठोस रूपमा आफ्नो योजना र कार्यक्रमहरू सुनाउन सकेका छैनन् । कानुन निर्माणको थलोमा जान उम्मेदवार बनेकाहरूले कानुनका पाटा र पक्षको विषयमा पनि सार्वजनिक बहस छेडेका छैनन् ।

    पछिल्ला केही अभिव्यक्ति हेर्ने हो भने उनीहरूको राजनीति ठिकठाकसँग नचलेको जस्तो भान हुन्छ । विगतका चुनावमा आफूले गर्ने कामको लिस्ट सुनाउँदै हिँड्ने शीर्ष नेताहरू यसपटक चुनावी प्रचारप्रसारमा छन् कि छैनन् भनेर खोज्नुपर्ने अवस्था बनेको छ, किनकि उनीहरूको अभिव्यक्ति चुनावी उत्साहलाई प्रतिनिधित्व गर्ने किसिमको देखिएको छैन । खासगरी चुनावमा आफू अनुकूलको माहोल नदेखेपछि नेताहरू आत्तिएको विश्लेषण पनि हुने गरेको छ ।

    पब्लिक डिबेटको प्रसंगपछि हतासमा ओली

    ३ दलहरू कांग्रेस, एमाले र रास्वपाले आगामी चुनावपछि बन्ने प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावी मैदानमा गएसँगै सार्वजनिक वृत्तमा ३ उम्मेदवारका बीचमा पब्लिक डिबेट (सार्वजनिक बहस) हुनुपर्ने माग बढ्यो ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू पब्लिक डिबेटका लागि तयार रहेको बताए । ‘देश जलाउने र देश बनाउने पक्षबीच हुने यो प्रतिस्पर्धामा हाम्रो पार्टी नेकपा (एमाले) देश बनाउने तर्फबाट मैदानमा छ,’ उनले भनेका थिए । सामाजिक सञ्जाल फेसबुकमा ओलीले राखेको सो स्टाटसमा रास्वपा वरिष्ठ नेता बालेन शाहले कमेन्ट गरेर पब्लिक डिबेटमा बस्न अस्वीकार गरे ।

    उनले जेनजी आन्दोलनमा ७६ जना बच्चाको हत्या भएको भन्दै ओलीलाई ‘हत्यारा’को संज्ञा दिए । ‘हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु आफू पनि त्यसमा सामेल हुनु भएको’ भन्दै उनले अस्वीकार गरेका हुन् । लगत्तै अध्यक्ष ओली आत्तिए । हत्तपत्त सार्वजनिक रूपमा उठेका प्रश्नहरूको औपचारिक जबाफ नदिने उनले अर्को स्टाटस लेखेर प्रधानमन्त्रीलाई आफ्नो नगारिकमाथि गोली चलाउन आदेश दिने अधिकार संविधानमै नभएको बताए । आफूले आदेश नदिएको उनको जिकिर थियो ।

    ओलीले सुरक्षाकर्मीले सुरक्षाका लागि सरकारको आदेश नभई कानुनको सपथ लिएको हुने भन्दै सरकारको आदेश नभएको दाबी गरे । उनले सुरक्षाकर्मीको चेनअफ कमान्ड हुँदै त्यसको समग्र नेतृत्व सरकारकै रहेको हुन्छ भन्ने कुरालाई नजरअन्दाज गर्दै रक्षात्मक भएर प्रतिक्रिया दिनुप¥यो ।

    गत हप्ता झापा–५ पुगेका ओलीले आफ्नो प्रतिस्पर्धी बालेन शाहलाई इंगित गर्दै डोजर लगाउने व्यक्ति आएको भन्दै सुकुम्बासीहरू डराएको उल्लेख गरे । उनले नयाँलाई भोट दिँदा खेर जाने बताए । नयाँको स्वाद जिब्रो पखाल्दासमेत नजाने तितो र अमिलो हुने टिप्पणी गरे ।

    बालेनलाई भोट हालेपछि खोज्न जाँदा नभेटिने उनको तर्क थियो । ‘राष्ट्रियस्तरमा भिजन भएको पनि होइन । उहाँले यहाँ के गर्ने ? उहाँको घरअघिको बाटो मैले पक्की बनाइदिएको छु । हामी त काम गर्छौं । उनीहरूले कुनै काम गरेको छैन, कुनै काम देखाएको छैन,’ ओलीको भनाइ थियो ।

    ओली पछिल्ला दिनहरूमा हतास मनस्थितिमा देखिएका छन् । उनका प्रत्येक अभिव्यक्ति आत्तिएको जस्तो सुनिन्छ ।

    प्रचण्डले देखे देशलाई संकटमा

    गत मंगलबार नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा त्याग, तपस्या र बलिदानको राजनीतिलाई पाखा लगाएर केवल चर्चाका लागि काम गर्नेहरूको प्रवद्र्धन भएको बताए । देश दौडाहाबाट आफ्नो लोकप्रियतामा ह्रास आएको संकेत पाएका उनले जनताले आशा गरेका नेताहरूलाई स्टन्टको भरमा लोकप्रिय भएको आरोप लगाए ।

    त्यति मात्रै होइन कतिपय नेताहरूलाई विदेशी शक्तिले लगानी गरेको आरोपसमेत लगाए । ‘स्टन्ट गरेको भरमा पपुलर हुने र त्यस्तालाई नै प्रमोट गर्न देशी–विदेशी शक्तिहरूले ठुलो लगानी गरेको हामीले देखिरहेका छौँ,’ उनको भनाइ छ । उनले देशमा संकट रहेको र दुर्घटना टरिसक्यो भन्ने अवस्था नभएको भन्ने कुरा दोहो¥याउने गरेका छन् ।

    चुनावलाई भित्री हृदयदेखि स्वीकार गरेर सरकारले घोषणा गरेको दिनदेखि नै चुनावी तयारीमा लागेको नेकपाका शीर्ष नेताको पछिल्लो अभिव्यक्तिलाई पनि अताल्लिएको अभिव्यक्तिको संज्ञा राजनीतिक वृत्तले दिइरहेको छ ।

    नेकपाकै नेता नारायणकाजी श्रेष्ठले आफूहरू बाहेकले गरेको राजनीतिलाई छलछाम र तिगडमको राजनीति भएको आरोप लगाउने गरेका छन् । संविधान र लोकतन्त्रको संघर्षमा सिन्को नभाँचेकाहरू राजनीतिमा रहेका भन्दै उनले उनीहरूबाट देशलाई बचाउनुपर्ने अभिव्यक्ति दिएका छन् ।

    पुराना दलका शीर्ष नेताहरूका अभिव्यक्ति चुनावी प्रतिस्पर्धामा रहेका नयाँ राजनीतिक दलहरूप्रति केन्द्रित देखिन्छ ।

    राजनीतिक विश्लेषकहरूले नेताहरूको अभिव्यक्ति हारको मानसिकताबाट ग्रसित भएको टिप्पणी गरेका छन् । यस्ता अभिव्यक्ति दिनेहरूमा वामपन्थी दलहरू नै अग्रपंक्तिमा देखिन्छन् ।

    यो मामिलामा चुनावी अभियानमा होमिएको अर्को ठुलो दल नेपाली कांग्रेसका नेताहरू सजग देखिन्छन् । कांग्रेसका शीर्ष तहका कुनै पनि नेताले यसप्रकारको सार्वजनिक अभिव्यक्ति दिएका छैनन् । प्रचार–प्रसारका क्रममा जनताको क्रेज नयाँ दलहरूप्रति देखेर यो सबै विदेशी लगानीले हो भन्नु हतास वा पराजित मानसिकताको उपज भएको राजनीतिक विश्लेषकहरु बताउँछन् । -पत्रपत्रिकाबाट

    प्रतिक्रिया दिनुहोस्
    images
    images