काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कम्युनिष्टको किल्ला मानिने धादिङ–१ मा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा र राष्ट्रिय स्वतन्त्र पार्टीबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
नेकपाबाट उम्मेदवार बनेका राजेन्द्र प्रसाद पाण्डे आठौँ पटक चुनावी मैदानमा छन् ।
एमाले पृष्ठभूमिबाट आएका उनी कम्युनिष्ट मत विभाजन नभएकाले आफू सहज अवस्थामा रहेको दाबी गर्छन् ।
पूर्वमुख्यमन्त्री शालिकराम जम्कट्टेलले पनि कांग्रेस र एमालेको मत रास्वपाले काट्ने भएकाले नेकपा विजयी हुने जिकिर गरेका छन् ।
एमालेबाट उम्मेदवार भूमि त्रिपाठी अघिल्लो निर्वाचनको हार उल्ट्याउने प्रयासमा छन् ।
केही पालिकामा नेकपा अगाडि भए पनि अधिकांश क्षेत्रमा एमालेको पकड बलियो रहेको उनको दाबी छ ।
कांग्रेसले नयाँ अनुहार कृष्ण रिजाललाई अघि सारेको छ ।
पार्टी नेतृत्व परिवर्तनपछि कांग्रेस एक्लै चुनावमा होमिएकाले जित सम्भव हुने उनको भनाइ छ ।
रास्वपाले सामाजिक अभियन्ता तथा कलाकार आसिका तामाङलाई उम्मेदवार बनाएको छ, जसले विशेषतः गजुरी क्षेत्रमा प्रभाव पार्न सक्ने अनुमान छ ।
२०७९ को निर्वाचनमा गठबन्धनका उम्मेदवार पाण्डे ८ हजार ९१ मतान्तरले विजयी भएका थिए ।
त्यस निर्वाचनमा रास्वपाले उल्लेख्य मत पाएको थियो ।
यसपटक चार ठूला दल छुट्टाछुट्टै प्रतिस्पर्धामा रहेकाले नतिजा अनिश्चित देखिएको छ ।
धादिङ–१ मा कुल १ लाख ३६ हजार ६८६ मतदाता छन् ।























