काठमाडौं– निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं उपत्यका, झापा र हिमाली जिल्लालाई संवेदनशील क्षेत्रका रूपमा नक्सांकन गरेको छ ।
आयोगका अनुसार हिमाली जिल्लामा मौसमजन्य जोखिम र काठमाडौं उपत्यका तथा झापामा सुरक्षा चुनौतीका कारण यी क्षेत्र संवेदनशील सूचीमा राखिएका हुन् ।
मौसमका कारण हुम्ला, कालिकोट, जुम्ला, मुगु र डोल्पा संवेदनशील ठहरिएका छन् भने काठमाडौं उपत्यका र झापा सुरक्षा दृष्टिले संवेदनशील मानिएका छन् ।
झापा–५ मा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र रास्वपाका नेता बालेन्द्र शाहको उम्मेदवारीका कारण सम्भावित सुरक्षा चुनौतीको विश्लेषण गरिएको छ ।
झापामा ९५ मतदानस्थल अतिसंवेदनशील, १४७ संवेदनशील र ४३ सामान्य रहेका छन् ।
निर्वाचनलाई सुरक्षित रूपमा सम्पन्न गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको परिचालन गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यसैबीच, निर्वाचन आयोगले दुर्गम जिल्लाका लागि प्रत्यक्षतर्फका मतपत्र छपाइ सम्पन्न गरिसकेको र समानुपातिकतर्फका दुई करोडभन्दा बढी मतपत्र छापिसकेको जनाएको छ ।
मतदाता शिक्षाका लागि नमुना मतपत्र सबै जिल्लामा पुगिसकेका छन् ।























