images
images
  • को–को हुन् स्वास्थ्य उपकरण खरिदमा ७ करोड ३१ लाख बढी भ्रष्टाचारमा मुछिएका कर्मचारी ?

    काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न राजनीतिक दल र उच्चपदस्थसँग मिलेमतो गरी पटक–पटक राजनीतिक नियुक्ति लिँदै आएकी पूर्वउपकुलपति प्राडा. संगीता सिंह भण्डारीसहित १९ जनाविरुद्ध थप भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    २०३८ सालदेखि संसदीय राजनीतिमा सक्रिय रही २० पटकभन्दा बढी मन्त्री भइसकेका पूर्वमन्त्री शरतसिंह भण्डारीकी बहिनी संगीता भण्डारी राजनीतिक पहुँचका आधारमा निरन्तर नियुक्ति पाउने व्यक्तिका रूपमा चिनिन्छिन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति रहँदा गरिएको खरिद प्रक्रियामा अनियमितता गरेको आरोपमा उनीविरुद्ध यसअघि पनि मुद्दा दायर भइसकेको छ ।

    अख्तियारले प्रतिष्ठानमा १२८ स्लाइस क्षमताको सिटी स्क्यान मेसिन खरिद गर्दा सार्वजनिक खरिद ऐन–२०६३ र नियमावली–२०६४ विपरीत प्रक्रिया अपनाई आर्थिक अनियमितता गरेको निष्कर्षसहित नयाँ अभियोगपत्र दायर गरेको हो । आयोगका अनुसार खरिद प्रक्रियामा मिलेमतो गरी कम गुणस्तरको उपकरण खरिद गरिँदा प्रतिष्ठानलाई ७ करोड ३१ लाख ८२ हजार ९ सय ८५ रुपैयाँ ९९ पैसाको नोक्सानी भएको छ ।

    अभियोगपत्रमा तत्कालीन उपकुलपति भण्डारीसँगै कामु रजिस्ट्रार कैलाशप्रसाद देव, तत्कालीन निर्देशक डा. सागर पन्थीलाई प्रतिवादी बनाइएको छ । यस्तै, रेडियोलोजी विभाग प्रमुख डा. ओम बिसी, बायोमेडिकल इन्जिनियर शरद भण्डारी र आशुतोष भण्डारीमाथि प्राविधिक परीक्षण प्रतिवेदनमा मिलेमतो गरेको आरोप लगाइएको छ ।

    खरिद प्रकरणमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्जका बायोमेडिकल इन्जिनियर अमितकुमार चौधरीलाई पनि गुणस्तरहीन मेसिनलाई योग्य प्रमाणित गरेको अभियोगमा प्रतिवादी बनाइएको छ । सिटी स्क्यान खरिदसँग सम्बन्धित शाखा अधिकृत झन्कार लामिछाने, लीलाकुमारी देवकोटा र मेघबहादुर अधिकारीमाथि समेत दोषारोपण गरिएको छ ।

    त्यसैगरी तत्कालीन लेक्चरर डा. श्रीसिया पोखरेल, आईटी अफिसर हीरालाल भण्डारी, लेखा अधिकृत राजीव बस्नेत, फिजियोथेरापिस्ट पूजा ठाकुर, कम्प्युटर सहायक सतिशबहादुर शाही, फार्मेसी सुपरभाइजर कृष्णप्रसाद जोशी र कर्मचारी विन्दु पौडेललाई पनि प्रतिवादी बनाइएको छ । आपूर्तिकर्ता कम्पनी हिमालयन मेडिटेक प्रालि र त्यसका पदाधिकारीहरूविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

    अख्तियारका अनुसार खरिद योजना नबनाई प्राविधिक स्पेसिफिकेसन र लागत अनुमान तयार गरिएको, राष्ट्रियस्तरको बोलपत्रमा अन्तर्राष्ट्रिय मापदण्ड प्रयोग गरिएको र प्राविधिक मूल्यांकन नगरी भुक्तानी गरिएको पाइएको छ । आवश्यक मापदण्ड नपुगेको मेसिनलाई मिलेमतोमा योग्य देखाई स्वीकृति प्रमाणपत्र जारी गरिएको आयोगको दाबी छ ।

    यसअघि पनि आयोगले भण्डारीविरुद्ध एमआरआई मेसिन खरिदमा अनियमितता गरेको आरोपमा २३ असोजमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । लुम्बिनी हेल्थ केयर प्रालिसँग ११ करोड ४५ लाख रुपैयाँमा एमआरआई मेसिन खरिद गर्दा निश्चित कम्पनीलाई फाइदा पुग्ने गरी प्राविधिक स्पेसिफिकेसन तयार गरिएको आयोगको निष्कर्ष छ ।

    एमआरआई खरिद प्रक्रियामा लागत अनुमान स्वीकृत नगरी राष्ट्रियस्तरको बोलपत्र आह्वान गरिएको, अन्तर्राष्ट्रिय बोलपत्रका कागजात प्रयोग गरिएको र बोलपत्र खोल्दा बोलपत्रदाताको उपस्थिति समेत नभएको पाइएको थियो । आयोगका अनुसार आशयपत्र जारी, प्रतितपत्र खोल्ने निर्णय र भुक्तानी प्रक्रियासम्म पुग्दा व्यापक मिलेमतो भएको देखिन्छ ।

    अख्तियारले प्रतितपत्र शुल्क, भन्सार शुल्क र विनिमय दरसम्बन्धी निर्णयमा समेत राज्यकोषलाई नोक्सान पुर्‍याइएको दाबी गर्दै विभिन्न चरणमा भ्रष्टाचारजन्य कार्य भएको ठहरसहित आरोपपत्र दायर गरेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images