काठमाडौं– प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा पनि संघीय राजधानी काठमाडौंमा अपेक्षाकृत चुनावी सरगर्मी देखिएको छैन ।
उपत्यकाबाहिर चुनावी तापक्रम बढे पनि काठमाडौंमा भने चिसो मौसमसँगै माहोल सुस्त छ ।
प्रमुख दलहरूले ‘भावी प्रधानमन्त्री’का रूपमा अघि सारेका नेताहरू उपत्यकाबाहिरबाट उम्मेदवार बनेका छन् भने अघिल्ला चुनावका हेभिवेटहरू धेरैजसो मैदान बाहिर छन् ।
निर्वाचन आयोगको कडाइका कारण प्रचार–प्रसार पनि सीमित छ ।
सभा, जुलुस र पोस्टर नहुँदा सामाजिक सञ्जालमै प्रचार सिमित भएको छ ।
कांग्रेस सभापति गगन थापा काठमाडौं–४ छाडेर सर्लाही–४ पुगेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका बालेन्द्र शाह झापा–५ मा प्रतिस्पर्धामा छन् ।
यसले काठमाडौंका धेरै क्षेत्रमा प्रतिस्पर्धा फिका बनेको छ ।
काठमाडौं–४ मा रास्वपाका पुकार बमले हेभिवेट नहुँदा चुनावी ‘थ्रिल’ कम भएको प्रतिक्रिया दिएका छन् ।
काठमाडौं–१, २, ६, ९ र १० मा पनि अघिल्ला चुनावजस्तो चर्को प्रतिस्पर्धा देखिएको छैन ।
केही सरगर्मी भने काठमाडौं–५ मा देखिन्छ, जहाँ कांग्रेसका प्रदीप पौडेल, एमालेका ईश्वर पोखरेल र राप्रपाका कमल थापा मैदानमा छन् ।
०७९ मा काठमाडौंका १० क्षेत्रमध्ये कांग्रेसले ५, रास्वपाले ४ र एमालेले १ सिट जितेका थिए ।
यसपटक पनि मुख्य प्रतिस्पर्धा कांग्रेस र रास्वपाबीच हुने आँकलन छ, तर हेभिवेटको अनुपस्थितिले काठमाडौंको चुनावी माहोल समग्रमा सुस्त देखिएको छ ।























