काठमाडौं– नेपाली कांग्रेस सभापति गगन थापाको आगमनसँगै सर्लाही–४ को चुनावी माहोल तातेको छ ।
कांग्रेसको परम्परागत पकड रहेको क्षेत्रमा यसपटक ३९ उम्मेदवार मैदानमा छन् ।
कांग्रेसबाट थापा, रास्वपाबाट निर्वतमान सांसद अमरेश सिंह, एमालेबाट अमनिशकुमार यादव, जसपाबाट रामेश्वर राय यादव प्रमुख प्रतिस्पर्धी हुन् ।
२०७९ मा स्वतन्त्र उम्मेदवारका रूपमा अमरेश सिंहले जिते पनि यसपटक कांग्रेस सभापति स्वयं उम्मेदवार बनेपछि समीकरण फेरिएको छ ।
थापाले ५२ वडामै परिचालन समिति गठन गर्दै घरदैलो अभियान तीव्र बनाएका छन् ।
हालै एमाले, माओवादी र जसपाका पाँच वडाध्यक्ष कांग्रेस प्रवेश गरेपछि थापाको पक्षमा माहोल बढेको कांग्रेसको दाबी छ ।
यादव समुदायको बाहुल्यता रहेको क्षेत्रमा तीन यादव उम्मेदवार हुँदा जातीय मत विभाजन हुने अनुमान छ ।
उता, शिवपुजन यादवको प्रभाव र उनका छोरा अमनिशकुमारको उम्मेदवारीले प्रतिस्पर्धा रोचक बनेको छ ।
यद्यपि, भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा थापा मैदानमा उत्रिँदा कांग्रेसलाई फाइदा पुग्ने स्थानीय विश्लेषण छ ।























