काठमाडौं– झापा–५ मा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली फेरि चुनावी मैदानमा छन् ।
२०६४ को संविधान सभा निर्वाचनबाहेक ओलीले प्रतिस्पर्धा गरेका सातमध्ये छ चुनाव जितेका छन् ।
२०४८ मा झापा–६ बाट कांग्रेस नेता केशवकुमार बुढाथोकीलाई हराउँदै सुरु भएको उनको चुनावी यात्रा झापामै केन्द्रित रहँदै आएको छ ।
२०७९ मा कांग्रेसका डा.खगेन्द्र अधिकारीलाई २८ हजारभन्दा बढी मतान्तरले हराउनु ओलीको ठूलो जितमध्ये पर्छ ।
२०६४ मा भने उनी माओवादी उम्मेदवार विश्वदीप लिङ्देनसँग पराजित भएका थिए ।
यसपटक भने झापा–५ मा प्रतिस्पर्धा कडा हुने संकेत देखिएको छ ।
कांग्रेस, नेकपा, राप्रपा र रास्वपाका उम्मेदवारबीच मुख्य चुनौती रास्वपाबाट बालेन शाह देखिएका छन् ।
युवापुस्ताको प्रभाव, नेतृत्व हस्तान्तरणबारे असन्तुष्टि र स्थानीय तहमा एमालेको कमजोर उपस्थिति ओलीका लागि चुनौती बनेका छन् ।
यद्यपि, एमाले नेतृत्व जितप्रति ढुक्क छ ।
हाइप्रोफाइल प्रतिस्पर्धाका कारण सुरक्षा सतर्कता बढाइएको छ र निर्वाचन शान्तिपूर्ण हुने प्रशासनको विश्वास छ ।























