काठमाडौं- वीर अस्पतालले स्वास्थ्य बीमा सेवा कटौती गर्ने तयारी गरेको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले स्वास्थ्य बीमा सेवा बन्द गरेपछि त्यसको प्रत्यक्ष चाप वीर अस्पतालमा देखिन थालेको छ ।
वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माका अनुसार पछिल्ला दिनहरूमा ओपीडी तथा उपचार सेवामा बिरामीको चाप उल्लेख्य रूपमा बढेको छ ।
अन्य अस्पतालले सेवा बन्द गरे पनि त्यसको चाप अन्ततः वीर अस्पतालमै आइपरेको डा.शर्माले बताए ।
पहिले दैनिक ओपीडीमा ३ हजारको हाराहारीमा आउने बिरामी अहिले ३ हजार ५ सयसम्म पुगेको छ । यसले गर्दा सेवामा थप दबाब सिर्जना भई व्यवस्थापन गर्न चुनौती बढेको अस्पतालले जनाएको छ ।
स्वास्थ्य बीमा बोर्डले लामो समयसम्म पनि भुक्तानी नदिएपछि र बीमित बिरामीको चाप बढेपछि अस्पतालले सेवा कटौती गर्ने तयारी गरेको छ ।
डा. शर्माले भने, ‘वीर गरिबको अस्पताल भएकाले सेवा सिधै बन्द गर्ने अवस्था छैन । विकल्प के हुन सक्छ भन्ने विषयमा बीमा बोर्डसँग छलफल चलिरहेको छ ।’
उनका अनुसार सेवामा केही समायोजन गर्ने, ओपीडीबाट दिइने सेवामा आंशिक कम्प्रोमाइज गर्ने जस्ता उपायबारे छलफल भइरहेको छ । यद्यपि, अत्यावश्यक उपचार भने निरन्तर गर्नुपर्ने बाध्यता रहेको उनले स्पष्ट पारे ।
वीर अस्पतालले स्वास्थ्य बीमा बोर्डबाट ४० करोड लिन बाँकी छ ।
अस्पतालले सबैभन्दा ठूलो चुनौती औषधि खरिदमा भोगिरहेको डा. शर्माले बताए ।
स्वास्थ्य बीमा कार्यक्रम अहिले चरम आर्थिक संकटमा परेको छ । लामो समयदेखि बिमितको उपचार गरेवापतको रकम भुक्तानी नपाएपछि ठूला अस्पतालहरू स्वास्थ्य बीमा कार्यक्रम समयसीमा तोकेर बन्द गर्न थालेका छन् ।
बोर्डका अनुसार सूचीकृत स्वास्थ्य संस्थालाई असारमसान्तसम्म ११ अर्बभन्दा बढी भुक्तानी दिन बाँकी छ ।
यसबाट बिमित नागरिक त सेवाबाट वञ्चित हुने छन् नै, स्वास्थ्य बीमा कार्यक्रम नै अलपत्र पर्ने जोखिम बढेको छ ।
स्वास्थ्य बीमा गरेका नागरिकको उपचार गरेवापतको रकम अस्पतालले दाबी गरेपछि स्वास्थ्य बीमा बोर्डले अस्पताललाई भुक्तानी गर्नुपर्छ ।


विश्व खबर 



















