काठमाडौं- त्रिवि शिक्षण अस्पतालमा उपचाररत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने गएको माघ ५ गते आयोजित जनकपुरको चुनावी सभामा जाँदा खुट्टा ठोक्किएको खुलेको छ ।
खुट्टा ठोक्किएपछि घाउ बनेको र सो निको नभएर इन्फेक्सन भएपछि अस्पताल भर्ना हुनुपरेको हो ।
रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले ठोक्किएको देब्रे खुट्टाको घाउ इन्फेक्सन भएपछि अस्पताल भर्ना गर्नुपरेको जानकारी दिए ।
अस्पतालका प्रवक्ता तथा डिपुटी निर्देशक डा.गोपालप्रसाद सेढाईंका अनुसार, लामिछानेलाई ‘सेलुलाइटिस’ भएको हो ।
‘उहाँले एन्टिबायोटिक खाइरहनुभएको रहेछ । तर, निको नभएपछि अस्पताल आउनुभएको छ । घाउ लागेको छालाको भित्री तहसम्म हुने संक्रमणलाई सेलुलाइटिस भनिन्छ । छालाभित्र कीटाणुको संक्रमण हुँदा छाला सुन्निने, रातो हुने, दुख्ने तथा तातो महसुस हुने गर्छ,” उनले भने ।
डा. सेढाईंका अनुसार, लामिछानेलाई अहिले नसाबाट औषधि चलाइएको छ ।
‘उहाँको अवस्था सामान्य छ । अहिले नसाबाट औषधि चलाइएको छ । हाडजोर्नी विभागअन्तर्गत भर्ना गरिएको छ । उहाँलाई केही दिनको उपचार आवश्यक छ,’ उनले भने ।


विश्व खबर 



















