काठमाडौं– धनुषा–३ की एमाले उम्मेदवार जुलीकुमारी महतो यतिबेला चुनावी कार्यक्रमसँगै पार्टी नेतृत्वका अभिव्यक्तिको स्पष्टीकरण दिँदै हिँड्न बाध्य छिन् ।
यो अवस्था उनको होइन, एमाले अध्यक्ष केपी शर्मा ओली र सचिव महेश बस्नेतका विवादास्पद भनाइका कारण बनेको हो ।
८ माघमा कान्तिपुर टेलिभिजनमा ओलीले दमकलाई महोत्तरी–धनुषाभन्दा ‘एड्भान्स र सफा’ भन्दै व्यंग्य गरेपछि मधेसमा आलोचना चुलियो ।
त्यसअघि बस्नेतले जनकपुर सभापछि बालेन्द्र शाहलाई लक्षित गर्दै अपमानजनक शब्द प्रयोग गरेपछि झनै विवाद बढ्यो ।
बस्नेतले आत्मालोचना गरे पनि त्यसको भार मधेसका एमाले उम्मेदवारले बोक्नुपरेको छ ।
जुलीकुमारी महतो र धनुषा–४ का उम्मेदवार रघुवीर महासेठले नेतृत्वका अभिव्यक्तिले मधेसी समुदायको मन दुखेको बताउँदै सचेत गराएका छन् ।
एमाले धनुषाका नेता शम्भु साह भन्छन्, शीर्ष नेताको बोलीले मधेसमा एमालेविरुद्ध ध्रुवीकरणलाई मलजल गरेको छ ।
संविधान जारी, नाकाबन्दी र मधेस आन्दोलनपछि ओली–मधेस सम्बन्ध असहज रहँदै आएको छ ।
त्यसको असर २०७४ को चुनावमा देखिए पनि २०७९ मा एमालेले मधेसमा उल्लेख्य सुधार गरेको थियो ।
तर, पछिल्ला अभिव्यक्तिले फेरि प्रश्न उठाएको छ ।
पूर्वमन्त्री जितेन्द्रनारायण देव नेतृत्व मधेसप्रति कृतघ्न देखिएको टिप्पणी गर्छन् भने एमाले केन्द्रीय सदस्य सरोज यादव भने यसपटक पनि मधेसमा एमालेको नतिजा राम्रो हुने दाबी गर्छन् ।























