images
images
  • विप्लवलाई नेकपामा भित्र्याउने तयारीमा छौं : प्रचण्ड

    काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मसमीक्षासहित बृहत् कम्युनिष्ट एकतामा सामेल हुन विप्लवलाई आग्रह गरेका छन् ।

    बुधबार पार्टी कार्यालय पेरिसडाँडामा विप्लव नेतृत्वको पार्टीबाट विद्रोह गरेका नेताहरूलाई नेकपामा समायोजन गर्दै प्रचण्डले कम्युनिष्ट एकतामा सामेल नहुँदा पछि पश्चाताप गर्नुपर्ने चेतावनी दिए ।

    आत्मसमीक्षा गर्दै बृहत् एकतामा आउन विप्लवलाई पुनः आह्वान गरिएको उनको भनाइ थियो ।

    प्रचण्डका अनुसार समाजवादी मोर्चामा रहँदा विप्लवलाई पनि एकतामा ल्याउने प्रयास अन्तिम चरणमा पुगेको थियो ।

    तर, ‘जेनजी आन्दोलन’ पछि विप्लवको नेतृत्व वैचारिक अन्योलमा फसेको दाबी उनले गरे ।

    राष्ट्र असाधारण परिस्थितिमा रहेकाले कुनै आवेगमा नभई कम्युनिष्ट आन्दोलनका घटकहरूलाई एकताबद्ध गर्दै शक्ति आर्जनको प्रयास गरिएको प्रचण्डले बताए ।

    उनका अनुसार उक्त अवसर अहिले विप्लवले गुमाएका छन् ।

    तथापि, विप्लवप्रति कुनै आक्रोश नरहेको र आत्मसमीक्षासहित आए स्वागत गर्न तयार रहेको उनले स्पष्ट पारे ।

    देश असहज परिस्थितिमा रहेकाले एकताबद्ध भएर देशव्यापी अभियानमा जान नसके मुलुक अर्को दुर्घटनातर्फ जान सक्ने जोखिम रहेको उल्लेख गर्दै प्रचण्डले कम्युनिस्ट एकतामा जोड दिए ।

    उनले अन्य कम्युनिष्ट घटकहरूलाई पनि एकतामा सामेल हुन आह्वान गरे ।

    सोही कार्यक्रममा विप्लव नेतृत्वको नेकपा माओवादीका केन्द्रीय सदस्य तथा विद्यार्थी संगठनका पूर्वअध्यक्ष चिरञ्जीवी ढकालसहितका नेताहरूलाई नेकपामा प्रवेश गराइएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images