काठमाडौं– हरेक चुनावमा दलहरूले मिठा सपना, आकर्षक नारा र महत्वाकांक्षी योजना बोकेर घोषणापत्र ल्याउँछन् ।
तर ०७९ पछिका तीन वर्षमा माओवादी र एमाले नेतृत्वमा बनेका दुई सरकारसहित अधिकांश दलहरू सरकारमा सहभागी भए पनि बाचाअनुसारका कार्यक्रम कार्यान्वयन हुन सकेनन् ।
दलहरूले यसको मुख्य कारण राजनीतिक अस्थिरता र गठबन्धन सरकारलाई दिएका छन् ।
कांग्रेस, एमाले, माओवादी, रास्वपा, राप्रपा र जसपाले रोजगारी, शिक्षा, स्वास्थ्य, पूर्वाधार, सुशासनदेखि संरचनागत सुधारसम्मका ठूला प्रतिवद्धता गरेका थिए ।
तर, सरकारको नेतृत्व वा सहभागितामा रहँदासमेत ती अधिकांश योजना घोषणापत्रमै सीमित रहे ।
विज्ञहरू भने गठबन्धनअनुकूल साझा घोषणापत्र नबनाइनु, अव्यावहारिक बाचा र जवाफदेहिताविहीन योजना नै कार्यान्वयन नहुनुको मूल कारण भएको बताउँछन् ।
दलहरूबीच दोषारोपण जारी छ, कोही अस्थिरता, कोही बहुमत नपाएको तर्क गर्छन् ।
तर, नागरिक तहमा भने प्रश्न उस्तै छ– हरेक चुनावमा दोहोरिने वाचा किन फेरि पनि पूरा हुँदैनन् ?























