काठमाडौं– काठमाडौं– ४ बाट लगातार तीनपटक निर्वाचित नेपाली कांग्रेसका सभापति गगन थापा यसपटक मधेसको सर्लाही–४ बाट उम्मेदवार बनेका छन् ।
जेनजी आन्दोलनपछिको राजनीतिक तरंग, रास्वपाको उदय र स्वतन्त्र पृष्ठभूमिका अमरेशकुमार सिंहसँगको भिडन्तले यो क्षेत्रको चुनाव रोचक बनेको छ ।
सर्लाही आइपुग्नु आकस्मिक नभएको बताउँदै थापाले मधेसका मुद्दा नजिकबाट बुझ्न र राष्ट्रिय तहमा प्रभावकारी रूपमा उठाउन आफूले यो निर्णय लिएको बताए ।
“राष्ट्रिय नेता बन्न देशका सबै भूगोल बुझ्नुपर्छ,” उनले भने, “मधेसको माटो टेक्नैपर्छ भन्ने लाग्यो ।”
मधेसमा सम्भावना हुँदाहुँदै अपेक्षित विकास हुन नसकेको उल्लेख गर्दै उनले यहाँका समस्या संसद्मा तथ्यसहित उठाउने प्रतिबद्धता जनाए ।
काठमाडौं छाड्दा भावनात्मक भएको स्वीकार गर्दै थापाले सर्लाहीका जनतामाथि पूर्ण भरोसा रहेको बताए ।
जेन–जी आन्दोलन र ‘नो भोट’ प्रवृत्तिबारे उनले कांग्रेसले आत्मसमीक्षा गरिसकेको दाबी गरे ।
“अबको मुख्य एजेन्डा रोजगारी हो,” थापाले भने, “नेपालमै बसेर २–३ लाख कमाउने वातावरण बनाउने अभियान कांग्रेसले अघि बढाउँछ ।”
जोखिम मोलेर मधेस आएको बताउँदै उनले कांग्रेसको भविष्य मधेससँग जोडिएको धारणा राखे ।
आगामी पाँच वर्ष सर्लाही–४ का मुद्दा संसद्मा उठाउने, यहाँ छुट्टै सचिवालय स्थापना गर्ने र निरन्तर सम्पर्कमा रहने उनको प्रतिबद्धता छ ।























