काठमाडौं– नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै चुनावी रणनीति तयार गरिरहेको छ ।
उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको छ ।
उक्त समितिले ‘निर्वाचन परिचालन निर्देशिका’ तयार गर्दैछ, जसका आधारमा पार्टीको समग्र चुनावी रणनीति तय गरिने नेताहरूले बताएका छन् ।
निर्देशिकाअनुसार कांग्रेसका सबै तहका नेता तथा कार्यकर्ता एक महिनासम्म पूर्ण रूपमा चुनावकेन्द्रित हुनेछन् ।
माघ २१ गतेदेखि फागुन २१ गतेसम्म नेता–कार्यकर्तालाई आ–आफ्नो निर्वाचन क्षेत्रमा खटाइने व्यवस्था निर्देशिकामा समेटिएको छ ।
‘अब हामी चुनावकेन्द्रित हुन्छौँ । अन्तिम ३० दिन जसको जिम्मेवारी जहाँ छ, उसले त्यहीँ खटिनुपर्ने रणनीति निर्देशिकामा समावेश छ,’ एक पदाधिकारीले बताए ।
उपसभापति शर्माले प्रदेशस्तरीय विशेष आन्तरिक छलफलमार्फत निर्देशिका तयार गरिरहेका छन् ।
केन्द्रीय कार्यालय सानेपामा दिनहुँजसो प्रदेशस्तरीय आन्तरिक कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।
हालसम्म कर्णाली र सुदूरपश्चिम प्रदेशको छलफल सम्पन्न भइसकेको छ भने गण्डकी प्रदेशको छलफल जारी छ ।
यी छलफलहरूमा सम्बन्धित प्रदेशबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने वर्तमान तथा निवर्तमान पदाधिकारी र सदस्य, जिल्ला सम्पर्क समितिका सभापति, काठमाडौंमा रहेका शुभेच्छुक तथा युवा सहभागी रहेका छन् ।
यसैबीच सभापति गगन थापाले पनि नेता तथा कार्यकर्तालाई आ–आफ्नो निर्वाचन क्षेत्रमा परिचालित हुन निर्देशन दिएका छन् ।
आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ मा आउन नेता–कार्यकर्ताबाट लगातार फोन आइरहेको उल्लेख गर्दै उनले सबैलाई आ–आफ्नो क्षेत्रमा गएर सक्रिय हुन आग्रह गरेका थिए ।























