images
images
  • राष्ट्रसंघले मान्यता नदिएको म्यानमारको चुनावमा किन भयो नेपाल सहभागी ?

    काठमाडौं- निर्वाचन आयोगको टोली राष्ट्रसंघसहित अन्तर्राष्ट्रिय समुदायले मान्यता नदिएको म्यानमारको निर्वाचन पर्यवेक्षण गरेर फर्किएको छ । ७ माघमा म्यानमार गएका निर्वाचन आयुक्त जानकी तुलाधर र उपसचिव कमल ज्ञवाली १२ माघान फर्किएका हुन् ।

    प्रजातन्त्रवादी नेतृ आङसाङ सुचीलाई नजरबन्दमा राखेर २०२१ मा सेनाले शासनसत्ता हातमा लिएपछि पहिलोपटक आइतबार म्यानमारमा निर्वाचन सम्पन्न भएको थियो ।

    सेनाले सत्ता हातमा लिएको पाँच वर्षपछि भएको चुनावलाई अन्तर्राष्ट्रिय समुदायले देखावटी भनेको छ । सेनाले आफ्नो सत्तालाई लोकतान्त्रिक र वैध ठहर गराउन खोजेको भन्दै अन्तर्राष्ट्रिय समुदायले मान्यता नदिएका वेला नेपाल भने चुनावमा सहभागी भएर मान्यता दिएको भनेर सरोकारवाला जानकारले प्रश्न उठाइरहेका छन् ।

    निर्वाचन आयोगको प्रस्तावमा मन्त्रिपरिषद्ले भ्रमण स्वीकृत गरेपछि टोली पर्यवेक्षणमा गएको हो । आयोग प्रवक्ता नारायण भट्टराईले म्यानमारकै निमन्त्रणा र मन्त्रिपरिषद्को स्वीकृतिमा आयोगको टोली म्यानमारको निर्वाचन पर्यवेक्षण गर्न गएको बताएका छन् ।

    आयोगका एक अधिकारीले निर्वाचन पर्यवेक्षणका लागि आयोगलाई निमन्त्रणाहरू आउने, तर कहाँ सहभागी हुने, कहाँ नहुने भनेर सरकारले आफ्नो नीतिअनुसार ख्याल गर्नुपर्ने बताए ।

    ‘अन्तर्राष्ट्रिय समुदायबाटै मान्यता नदिएको म्यानमारको निर्वाचनमा पर्यवेक्षणमा जाँदा नेपालको परराष्ट्र नीतिमा कस्तो प्रभाव पर्छ, फेरि नेपालमा चुनावको तयारीमा खट्नुपर्ने वेला छ । यस्तोमा आयोग र सरकार दुवैले ख्याल गर्नुपर्ने थियो,’ ती अधिकारी भन्छन्, ‘कुन ठाउँमा डिप्लोमेटिक च्यानल के हो सरकारले जान्ने कुरा हो । अन्तर्राष्ट्रिय समुदायले मान्यता नदिएको ठाउँमा गएर नेपालले समर्थन गरेकै अर्थ लाग्यो । म्यानमारको सैनिक सत्तालाई वैधता दिनेबाहेक यो भ्रमणको औचित्य पुष्टि हुँदैन ।’

    परराष्ट्र मन्त्रालयका अधिकारीले भने म्यानमारको निर्वाचनलाई मान्यता दिनेभन्दा पनि चुनावमा प्रयोग गरिएको नवीन प्रविधि र शैलीको अध्ययनका लागि आयोगको टोली भ्रमणमा गएको बताएका छन् ।

    मन्त्रालयले आधिकारिक रूपमा अध्ययन भ्रमण नै भनेको छ । -पत्रपत्रिकाबाट

    प्रतिक्रिया दिनुहोस्
    images
    images