images
images
  • चुनावमा आफ्ना र आफन्त, चार जोडी श्रीमान्–श्रीमती मैदानमा

    काठाडौं- चुनावमा एकै घरका, श्रीमान्–श्रीमती, बाबु छोरी, दाजुभाइले अवसर पाउनु सामान्य जस्तै भएको छ । यसैले नातेदार सबै चुनाव लडे र अवसर लिए भनेर आलोचना हुने गरेको छ ।

    यो क्रम यो पटक मात्रै होइन, हिजोका दिनमा पनि श्रीमान्–श्रीमतीसँगै चुनाव लडेका र एउटै संसद्मा दुई सांसद भएका उदाहरण धेरै छन् । यो पटक नेकपा एमालेबाट २ जोडी चुनावी मैदानमा छन् । रघुवीर महासेठ र जुली महतो, एमालेकै उषाकला राई र शेरबहादुर तामाङ ।

    एमालेबाट २ जोडी चुनावी मैदान
    लामो समयदेखि नेकपा एमालेका सक्रिय राजनीति गरेका रघुवीर र जुलीले धनुषाका २ क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका छन् । जुलीले धनुषा–३ बाट प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराइन् । त्यस्तै श्रीमान् रघुवीरले धनुषा ४ वाट उम्मेदारी दर्ता गराए । महासेठ तीनपटक संघीय सांसद भइसकेका छन् भने उनी पूर्वमन्त्री पनि हुन् ।

    जुलीकुमारी २०६४ सालमा संविधानसभा सदस्य थिइन् । २०७० सालमा भने उनी पराजित भइन् । २०७४ र २०७९ सालमा धनुषा–३ बाटै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन् । आफूले जितेको क्षेत्र भएकाले उनी पाँचौँ पटक चुनावी मैदानमा उत्रिएकी हुन् । एमालेभित्र यो जोडीलाई संसदीय राजनीतिमा ‘लक्की जोडी’ भन्ने गरिन्छ । दुवैजना केपी शर्मा ओली नेतृत्वको सरकारमा पालैपालो मन्त्री पनि भए ।

    एमालेका शेरबहादुर तामाङ सिन्धुपाल्चोक–२ बाट उम्मेदवार बनेका छन् । श्रीमती उषाकला राई भने एमालेको समानुपातिक तर्फको सूचीमा समेटिएकी छन् । तामाङ र राई दुवै एमालेको सक्रीय राजनीति पृष्ठभूमि भएका व्यक्ति हुन् । उनी पूर्व कानुनमन्त्रीसमेत हुन् । २०७९ को निर्वाचनमा पराजित भएका उनी २०७० सालमा सिन्धुपाल्चोक ३ र २०७४ मा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए ।

    तामाङले दुवै चुनावमा राप्रपा नेता पशुपतिशमशेरलाई पराजित गरेका थिए भने २०६४ को पहिलो संविधानसभा निर्वाचनमा उनी माओवादीका उम्मेदवार दावा लामासँग ९८ मतले पराजित भएका थिए । उनकी श्रीमती उषाकला राई यसपटक समानुपातिक सूचीमा छिन् । उषाकलाको नाम आदिवासी जनजाति महिलाको चौथो नम्बरमा छ । तामाङले सिन्धुपाल्चोकबाट राजनीति गरिरहँदा राई भने खोटाङबाट राजनीतिमा छिन् ।

    नेकपामा पौडेल दम्पतीलाई सधै अवसर
    त्यसैगरी नेकपाबाट बलावती शर्मा र देवेन्द्र पौडेल उम्मेदवार छन् । पौडेल दम्पतीले मात्र सधैँजसो अवसर पाएको भन्दै नेकपाका कार्यकर्तामा भने असन्तुष्टि देखिएको छ ।

    यद्यपि यसलाई साम्य पार्ने प्रयास भएको एक नेताले बताए ।जनयुद्धकालदेखि नै पार्टीमा सक्रिय रहेका बलावती शर्मा र देवेन्द्र पौडेल माओवादी हुँदै नेकपाको राजनीतिमा आबद्ध छन् ।

    बागलुङबाट निर्वाचन लड्दै आएका पौडेल यसपटक निर्वाचन क्षेत्र परिर्वतन गर्दै नवलपरासी–२ बाट उठेका छन् । पूर्व शिक्षामन्त्रीसमेत रहेका उनी प्रत्यक्षतर्फ उम्मेदवार भइरहँदा श्रीमती बलावती शर्मा भने समानुपातिकमा परेकी छन् । उनी समानुपातिकतर्फ खस–आर्य महिलाको सूचीमा पहिलो नम्बरमा छिन् ।

    आम जनता पार्टीमा पत्रकार ऋषि धमलाको जोडी
    त्यस्तै पहिलोपटक निर्वाचनमा होमिएका पत्रकार ऋषि धमला र उनकी श्रीमती एलिजा गौतम पनि चुनावी प्रतिस्पर्धाको मैदानमा छन् । आम जनता पार्टी (आजपा) बाट धमला रौतहट–४ बाट उम्मेदवार भएका छन् भने पत्नी गौतम सोही पार्टीको समानुपातिक सूचीमा छिन् । प्रभु शाहको आम जनता पार्टीमा भर्खर प्रवेश गरेकी गौतमले आफू समानुपातिकमा बस्दै श्रीमान् धमलालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएकी हुन् । उनीहरू एउटै पार्टीबाट प्रतिस्पर्धामा छन् ।

    महासेठ र महतो दुवै जना प्रत्यक्षबाट प्रतिस्पर्धा गर्दै छन् ।

    अरूको चाहिँ श्रीमान् प्रत्यक्ष र श्रीमती समानुपातिक कोटामा छन् । समानुपातिक भएकाको पनि बलावती र गौतमको नाम खसआर्यको १ नम्बरमा नाम छ ।

    दल राष्ट्रिय पार्टी बनेको खण्डमा दुवै जना सांसद बन्नेछन् । उनीहरूका श्रीमान्हरुले भने प्रत्यक्ष निर्वाचनमा जित्नुपर्ने हुन्छ । -पत्रपत्रिकाबाट

    प्रतिक्रिया दिनुहोस्
    images
    images