काठमाडौं- पिपुल्स लिबरेशन आर्मी (पीएलए) को उच्च तह छिन्नभिन्न भएको छ। सप्ताहन्तमा चीनका शीर्ष जनरल झाङ युसिया र अर्का वरिष्ठ सैन्य अधिकृत जनरल लिउ झेनलीलाई पदबाट हटाइएपछि देशभित्र चलिरहेको शक्ति संघर्षको बारेमा गम्भीर प्रश्नहरू खडा भएका छन्।
यसले चीनको युद्ध क्षमतामा कस्तो असर पर्ला, चाहे त्यो ताइवानलाई बल प्रयोग गरेर कब्जा गर्ने योजना होस् वा अन्य कुनै ठूलो क्षेत्रीय द्वन्द्वमा संलग्न हुने कुरा, भन्ने चिन्ता पनि थपेको छ।
७५ वर्षीय झाङ सेन्ट्रल मिलिटरी कमिसन (सीएमसी) का उपाध्यक्ष थिए। कम्युनिस्ट पार्टीको यो समूह देशका नेता सी जिनपिङको नेतृत्वमा रहन्छ र यसले नै सशस्त्र बलहरूलाई नियन्त्रण गर्दछ।
सामान्यतया सात जना सदस्य रहने सीएमसी अहिले खुम्चिएर दुई जनामा मात्र सीमित भएको छ, सी र जनरल झाङ सेङमिन। अन्य सबै सदस्यहरूलाई यसअघिका पक्राउका लहरहरूसँगै ‘भ्रष्टाचार विरोधी’ अभियानअन्तर्गत हटाइएको छ।
एसिया सोसाइटी पोलिसी इन्स्टिच्युटका लाइल मोरिसका अनुसार, सीएमसीमा सी र एक जना जनरल मात्र बाँकी रहनु अभूतपूर्व घटना हो। उनले बीबीसीलाई भने, ‘पीएलए अस्तव्यस्त अवस्थामा छ ।’ उनका अनुसार चीनको सेनामा अब ‘नेतृत्वको ठूलो शून्यता’ देखिएको छ।
यति धेरै शीर्ष जनरलहरूलाई हटाउनुको वास्तविक कारणबारे सोधिएको प्रश्नमा उनले भने, ‘धेरै हल्लाहरू चलिरहेका छन्। अहिले हामीलाई के सत्य हो र के झुटो थाहा छैन… तर यो सी जिनपिङको नेतृत्व र पीएलए माथिको उनको नियन्त्रणका लागि पक्कै पनि नराम्रो हो।’
नेसनल युनिभर्सिटी अफ सिंगापुरका एसोसिएट प्रोफेसर चोङ जा इयानले पनि झाङको पतनको वास्तविक कारणबारे अनभिज्ञता प्रकट गरे, तर यस विषयमा धेरै अनुमानहरू भइरहेको बताए।
‘अमेरिकालाई आणविक गोप्य सूचना चुहाएकोदेखि लिएर कू (विद्रोह) को योजना बनाएको र गुटबन्दीको लडाइँसम्मका कुराहरू आएका छन्। बेइजिङमा गोली हानाहान भएको हल्लासमेत चलेको छ,’ उनले भने।
‘तर झाङ र लिउको पतन तथा यी अनियन्त्रित अनुमानहरूले दुईवटा कुरा प्रस्ट पार्छन्: सी अझै पनि चुनौतीभन्दा माथि (अजेय) छन् र बेइजिङमा सूचनाको पहुँच अत्यन्त सीमित छ, जसले अनिश्चितता र यस्ता अनुमानहरूलाई बढावा दिन्छ।’
आधिकारिक घोषणामा झाङ र लिउ ‘अनुसन्धानको दायरामा’ रहेको बताइएको छ र उनीहरूमाथि ‘अनुशासन र कानुनको गम्भीर उल्लंघन’ को आरोप लगाइएको छ, जुन भ्रष्टाचारको लागि प्रयोग गरिने घुमाउरो भाषा हो।
त्यसपछि पीएलए डेलीले एक सम्पादकीयमा यसलाई थप स्पष्ट पार्दै लेख्यो कि यो कदमले कम्युनिस्ट पार्टीको ‘भ्रष्टाचारलाई दण्डित गर्ने… चाहे त्यो कोही पनि होस् वा जतिसुकै उच्च पदमा होस्’ भन्ने ‘शून्य सहनशीलता’ को दृष्टिकोण देखाएको छ।
यी सबै जनरलहरूमाथि लागेका खास आरोपहरू सार्वजनिक गरिएका छैनन् र कहिल्यै नगरिन पनि सक्छन्। यद्यपि, उनीहरू अनुसन्धानमा छन् भन्नुको अर्थ लगभग निश्चित रूपमा उनीहरूले कम्तीमा जेल सजाय भोग्नुपर्ने हुन्छ।
पीएलए डेलीको सम्पादकीयले झाङ र लिउलाई दोषी नै भएजस्तो गरी चित्रण गरिसकेको छ। उनीहरूले ‘कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको विश्वास र अपेक्षालाई गम्भीर रूपमा धोका दिएको’ तथा ‘सेन्ट्रल मिलिटरी कमिसनलाई कुल्चिने र कमजोर पार्ने काम गरेको’ उल्लेख गरिएको छ।
जनरलहरूलाई निशाना बनाउनु भ्रष्टाचारसँग सम्बन्धित हुन सक्छ, तर विगतका यस्तै घटनाहरूलाई हेर्दा यो शक्ति राजनीतिको खेल पनि हुन सक्छ।
सी जिनपिङ सत्तामा आउँदा चीनमा पक्कै पनि भ्रष्टाचारको समस्या थियो, तर उनले आफ्नो भ्रष्टाचार विरोधी अभियान र पार्टीको डरलाग्दो अनुशासन निरीक्षण टोली प्रयोग गरेर सम्भावित राजनीतिक प्रतिद्वन्द्वीहरू वा उनीप्रति पूर्ण वफादार नदेखिएका सरकारी अधिकारीहरूलाई हटाउने गरेको आरोप पनि लाग्ने गरेको छ।
यसले महासचिव सीलाई माओपछि नदेखिएको स्तरको एकलौटी नियन्त्रण प्रदान गरेको छ। तैपनि, यस्तो प्रकारको नेतृत्व प्रत्युत्पादक पनि हुन सक्छ।
उदाहरणका लागि, सेनाभित्र शंकाको वातावरणले निर्णय प्रक्रियालाई सतर्क र कमजोरसमेत बनाउन सक्छ।
झाङका बुबा सीका बुबाका क्रान्तिकारी कमरेड थिए। सीसँग झाङको सम्बन्ध धेरै पुरानो हो र हालैको उथलपुथल अघि उनीहरूलाई निकट सहयोगीका रूपमा हेरिन्थ्यो। यसले गर्दा ‘कोही पनि सुरक्षित छैन’ भन्ने विश्वास बढेको छ र स्थितिलाई झन् खराब बनाएको हुन सक्छ।
उनी पीएलएका मुठ्ठीभर वरिष्ठ अधिकारीहरूमध्ये एक थिए जससँग युद्धको अनुभव थियो, त्यसैले उनको बहिर्गमन सेनाका लागि महत्वपूर्ण क्षति हो।
मोरिसका अनुसार उनको बर्खास्तीले सीका लागि दीर्घकालीन समस्याहरू पनि खडा गरेको छ।
उनले भने, ‘सीले फेरि एकपटक आफ्नो अधिकार जमाएका हुन सक्छन्, तर यो उथलपुथलको अर्थ निरन्तरको घर्षण हो।’
‘यो पक्कै पनि सीका लागि राम्रो संकेत होइन र मलाई लाग्छ आउने वर्षहरूमा पीएलएभित्र सी र उनका नेताहरूबिच ठूलो हलचल मच्चिनेछ।’
सबैभन्दा वरिष्ठ जनरलहरूको बर्खास्तीले तल्लो तहका अधिकारीहरूमा पनि डर पैदा गरेको छ, जो अब ‘पालो कसको?’ भनेर सोचिरहेका हुन सक्छन्।
माथिल्लो तहकाहरूको हविगत देखेर उनीहरू त्यो ‘खतरनाक क्षेत्र’ मा पदोन्नति हुन नचाहन सक्छन्, जहाँ जुनसुकै बेला सीको भ्रष्टाचार विरोधी निसाना सोझिन सक्छ।
र यो सबै त्यस्तो बेला भएको छ जतिबेला बेइजिङले ताइवानमाथि दबाब बढाउँदै कुनै बिन्दुमा गएर पूर्ण आक्रमणमार्फत उक्त स्वशासित टापु कब्जा गर्ने धम्की दिइरहेको छ।
विश्लेषकहरूले यी बर्खास्तीहरूले त्यस्तो सम्भावनालाई कति असर गरेको छ भनेर लेखाजोखा गर्नेछन्, यद्यपि कसै-कसैलाई लाग्छ कि यसले बेइजिङको महत्वाकांक्षामा खासै प्रभाव पार्ने छैन।
‘यो बर्खास्तीले ताइवानलाई नियन्त्रण गर्ने पीआरसीको महत्वाकांक्षालाई असर गर्दैन। त्यो चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) समग्रमा र विशेष गरी सीमै निर्भर रहन्छ,’ चोङले भने।
‘जहाँ बर्खास्तीले असर गर्न सक्छ, त्यो हो परिचालन सम्बन्धी निर्णयहरू। शीर्ष सैन्य पेशेवरहरूको अनुपस्थिति वा डराएका अधिकारीहरूका कारण ताइवानप्रतिको आक्रामकता बढाउने निर्णयहरू सी, उनका प्राथमिकता र प्रवृत्तिहरूमा अझ बढी केन्द्रित हुनेछन्।’ -बीबीसी


विश्व खबर 



















