images
images
  • हिमपात र पानी पार्ने बादल आइपुग्यो नेपाल, कस्तो रहला अबको मौसम ?

    काठमाडौं– नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहँदा आगामी केही दिन देशका विभिन्न भू–भागमा मौसम बद्लिने देखिएको छ ।

    जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल तराईका केही स्थानमा हुस्सु/कुहिरो लागेको छ भने पहाडी भू–भागमा मौसम मुख्यतया सफा र हिमाली क्षेत्रमा आंशिक बादल रहेको छ ।

    सोमबार (माघ १२) दिउँसो तराईका केही स्थानमा मध्यान्नसम्म हुस्सु तथा कुहिरो रहने अनुमान छ ।

    हिमाली भू–भागमा आंशिक बादल लाग्ने र बाँकी क्षेत्रमा मौसम प्रायः सफा रहनेछ ।

    राति भने कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने र उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपात वा वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

    मंगलबार (माघ १३) दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा बादल लाग्ने र केही स्थानमा हल्का हिमपात तथा वर्षा हुन सक्ने अनुमान छ ।

    साथै कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना पनि रहेको छ ।

    राति भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा मध्यम हिमपात तथा वर्षा हुन सक्ने बताइएको छ ।

    पहाडी क्षेत्रमा मध्यम वर्षा र तराईका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ ।

    बुधबार (माघ १४) दिउँसो देशभर साधारणतया बादल लाग्ने र सबै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मध्यम हिमपात वा वर्षाको सम्भावना रहेको छ ।

    लुम्बिनी, कर्णाली र सुदूरपश्चिमसहित बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ ।

    राति भने देशभर आंशिक बादल रहने र कोशी, बागमती तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात वा वर्षा हुन सक्नेछ ।

    महाशाखाले हालका लागि कुनै विशेष चेतावनी जारी नगरे पनि दैनिक अद्यावधिक मौसम सूचनामा ध्यान दिन सर्वसाधारणलाई आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images