images
images
  • इजरायली आक्रमणले हेब्रोनमा चरम खानेपानी अभाव, प्यालेस्टाइनी पहिचान बनेका इनारको पुनः सञ्चालन प्रयास

    काठमाडौं – पानीको चरम अभावले प्यालेस्टाइनको अधीनस्थ हेब्रोनस्थित ऐतिहासिक पुरानो सहरका बासिन्दाको जनजीवन कष्टकर बनेको छ। यसले उक्त क्षेत्रको प्यालेस्टिनी पहिचान नै सङ्कटमा पारेको छ। चार सदस्यीय परिवारसँगै बस्ने ४८ वर्षीया उम् मोहम्मद जाबेरका लागि पानीको अभावले खाना पकाउनेदेखि घर सफा गर्ने सम्मका सामान्य काम पनि दैनिक चुनौती बनेका छन्।

    ‘मानिसहरू खाना वा बिजुलीबिना केही समय गुजारा गर्न सक्लान्, तर पानीबिना जीवन नै ठप्प हुन्छ’, उनले भनिन्।

    हेब्रोनको पुरानो सहरका साँघुरा गल्ली तथा वरिपरि रहेका असङ्ख्य सुरक्षा जाँच चौकी र सैनिक प्रवेशद्वारका कारण पानीका ट्याङ्करलाई प्यालेस्टिनीका घरसम्म पुग्न कठिन हुन्छ।

    नगरपालिकाबाट वितरण हुने पानी पनि उम् मोहम्मदको घरमा महिनामा एक पटक मात्र पुग्छ। अर्को पटक पानी नआउँदासम्म पुग्ने गरी भण्डारण गर्ने क्षमता उनको परिवारसँग छैन।

    इजरायली बस्ती विस्तारको दबाब

    पुरानो सहरमा प्यालेस्टिनीका घर र पसलका छतमा कब्जा जमाएर बसेका इजरायली बस्तीका बासिन्दाका कारण स्थानीयलाई पानी भण्डारण गर्ने ट्याङ्की राख्नसमेत कठिन भएको छ। पानीको संकट समाधान गर्ने एउटा उपाय हुन सक्ने यस्ता ट्याङ्की राख्न नपाएपछि प्यालेस्टिनीहरू अहिले आफ्नो खुट्टामुनि रहेको तर लामो समयदेखि प्रयोगविहीन परम्परागत जलस्रोततर्फ फर्किएका छन्।

    पछिल्ला दुई वर्षदेखि पानीको अभावबारे अध्ययन तथा अनुगमन गरेपछि हेब्रोन पुन:स्थापना समितिले पुरानो सहरका परित्यक्त इनारहरू पुनः सञ्चालन गर्ने परियोजना सुरु गरेको हो।

    समितिका महानिर्देशक मुहन्नद अल-जाबारीका अनुसार गत वर्ष जुलाईमा परियोजना सुरु हुँदा पुरानो सहरका बासिन्दालाई आफ्नो घरजग्गाभित्र रहेका प्रयोगविहीन इनार दर्ता गर्न आह्वान गरिएको थियो। ती इनार पुनर्निर्माण गरी परिवारलाई स्वच्छ पानीको भरपर्दो स्रोत उपलब्ध गराउनु परियोजनाको उद्देश्य थियो।

    अभियान सुरु भएको पहिलो केही दिनमै ७० भन्दा बढी परिवारले आफ्ना इनार दर्ता गराएका थिए। त्यसयता दर्ता हुने परिवारको सङ्ख्या करिब २१५ पुगेको छ। समितिले अहिलेसम्म १०८ वटा इनार पुनः सञ्चालन गरिसकेको छ भने बाँकी इनारको काम आगामी वर्ष पूरा गर्ने लक्ष्य राखेको छ।

    अल-जाबारीका अनुसार यो परियोजनाका तीन वटा अन्तर सम्बन्धित उद्देश्य छन्। पहिलो– पुरानो सहरको सम्पदा र वास्तुकलाको अभिन्न अङ्गका रूपमा रहेका इनारको संरक्षण गर्नु, दोस्रो– स्थानीयको पानीमा पहुँच सहज बनाउनु र तेस्रो– इजरायली बस्तीका बासिन्दा तथा अधिकारीहरूले घर छाड्न दिइरहेको चर्को दबाबबीच स्थानीयलाई आफ्नै घर र बस्तीमा बसिरहन सक्षम बनाउनु ।

    ‘पानीको स्रोत भेट्टाउनु भनेको पुरानो सहरमा जीवन फर्काउनु हो’, उनले भने।

    इजरायलको कडा सैनिक नियन्त्रणमा रहेका सहरका बन्द क्षेत्रहरूमा पनि समितिले अन्तर्राष्ट्रिय रेडक्रस समितिसँगको सहकार्यमा करिब ४० वटा इनार पुनः सञ्चालन गरेको छ। आवागमनमा लगाइएका प्रतिबन्धका कारण ती क्षेत्रमा पानीका ट्याङ्कर पुग्न कठिन हुँदै आएको थियो।

    ऐतिहासिक सम्पदाको संरक्षण

    palestine well

    हेब्रोनको पुरानो सहर सन् १९६७ देखि इजरायली कब्जामा छ। यद्यपि त्यहाँको नागरिक प्रशासन प्यालेस्टिनीको अधिकार क्षेत्रमा हुनुपर्ने हो, अहिले पनि सहर इजरायली सैनिक नियन्त्रणमा छ। सन् १९८० को दशकदेखि इजरायली बस्तीका बासिन्दाले लगातार आक्रमण गर्दै आएका छन्। उनीहरूले पुरानो सहरका केही भागमा कब्जा जमाएका छन्, जसका कारण त्यहाँ बसोबास गर्ने प्यालेस्टिनीको जनजीवन झन् कठिन बनेको छ ।

    अल–जाबारीका अनुसार समितिको मुख्य उद्देश्य प्यालेस्टिनीका लागि सामान्य जीवनयापन सम्भव बनाउनु र उनीहरूलाई उक्त क्षेत्रमा बसिरहन सहयोग गर्नु हो। यसका लागि प्रत्येक घरपरिवारमा पानीको पहुँच सुनिश्चित गर्नु अत्यन्त महत्त्वपूर्ण छ।

    इनार पुनः सञ्चालन भएपछि परिवारले आवश्यकताअनुसार पानी भण्डारण गरेर प्रयोग गर्न सक्छन्। यसले विद्यालयजस्ता अत्यावश्यक संस्थालाई पनि पुरानो सहरका प्यालेस्टिनी परिवारलाई आवश्यक सेवा निरन्तर उपलब्ध गराउन सहयोग पुर्‍याएको छ।

    पुरानो सहरमा रहेको अल–जजाएर आधारभूत बालक विद्यालयमा १३६ विद्यार्थी अध्ययनरत छन्। बस्ती विस्तारका कारण प्यालेस्टिनीका घर तथा भवनमा पानी पुर्‍याउन कठिन भएपछि विद्यालयले पनि झन्डै दुई वर्षदेखि निरन्तर पानीको अभाव झेल्दै आएको थियो।

    विद्यालयका प्रधानाध्यापक हिशाम अल–कवास्मेहका अनुसार विद्यालय पानीका ट्याङ्करमा निर्भर थियो र थप पानीका लागि बारम्बार अनुरोध गर्नुपर्ने अवस्था थियो। त्यसैले विद्यालयले सहयोगका लागि समितिसँग सम्पर्क गरेको थियो।

    विद्यालय परिसरभित्रै रहेको इनार पुनः सञ्चालन भएपछि विद्यार्थी, शिक्षक तथा कर्मचारीले अहिले पिउन, सरसफाइ गर्न र दैनिक अन्य आवश्यकताका लागि नियमित पानी पाउन थालेका छन्। अल–कवास्मेहका अनुसार उक्त इनारको क्षमता ४०० देखि ५०० घन मिटरसम्म रहेको अनुमान छ। यसले बाहिरबाट पानी ल्याउनुपर्ने विद्यालयको निर्भरता घटाउने अपेक्षा गरिएको छ। अत्यावश्यक सेवा सञ्चालनमा रहनु शिक्षाको निरन्तरता र परिवारलाई पुरानो सहरमै बसिरहन सक्ने वातावरणसँग प्रत्यक्ष जोडिएको उनले बताए।

    ‘यदि पानी छैन र विद्यालय पनि छैन भने यी ७० परिवार स्वाभाविक रूपमा अर्को विकल्प खोज्न बाध्य हुनेछन्। त्यो विकल्प पुरानो सहरबाहिर हुनेछ’, उनले भने।

    विद्यालय भवन र इनार पुनःस्थापना गर्दा विद्यार्थी तथा उनीहरूका परिवारलाई सहयोग पुग्नुका साथै समग्र बस्तीको अस्तित्व जोगाउन मद्दत पुग्ने उनको भनाइ छ ।

    ‘हामी पानीको अभावबाट पीडित थियौँ। वर्षौँदेखि कायम रहेको यो समस्या समाधान गर्न हामीले इनार पुनःस्थापना गर्‍यौँ’, अल–कवास्मेहले भने, ‘विद्यालयमा घरभन्दा बढी पानी खपत हुन्छ र पानी नै हरेक स्थानको जीवन हो।’

    इनारहरू पुनः सञ्चालन गर्नु पछाडि निकै कठिन प्राविधिक काम र सावधानीपूर्वक गरिने प्रयास रहेको छ। पुराना र गहिरा इनार तथा आवागमनमा प्रतिबन्ध लगाइएका क्षेत्रहरूमा काम गर्नु विशेष चुनौतीपूर्ण हुने पुरानो सहरको इनार पुनःस्थापना परियोजनाका सुपरभाइजर खालिद अल–शरीफले बताए।

    प्रत्येक इनारको अवस्था फरक हुने भए पनि पुनःस्थापनाको प्रक्रियामा बाँकी रहेको पानी पम्पबाट निकाल्ने, माटो र भग्नावशेष हटाउने, इनारका भित्तामा पुनः प्लास्टर गर्ने, पानी चुहावट रोक्ने व्यवस्था मिलाउने, कीटाणुरहित बनाउने र अन्त्यमा स्वच्छ पानी भर्ने काम अनिवार्य रूपमा गर्नुपर्छ।

    पानी, बिजुली र पम्पिङ उपकरणको प्रयोग गर्नुपर्ने भएकाले कामदारका लागि यो काम जोखिमरहित छैन। त्यसमाथि ठुलो परिमाणमा भग्नावशेष खनेर हटाउनुपर्ने र पुनः स्थापनाका सामग्री प्रतिबन्धित क्षेत्रमा पुर्‍याउनुपर्ने भएकाले थप कठिनाइ हुने गरेको छ।

    ‘हेब्रोन अहिले गम्भीर पानी सङ्कटबाट गुज्रिरहेको छ। पुरानो सहरको कुरा गर्दा साँघुरा गल्लीका कारण पानीका ट्याङ्कर प्रवेश गर्नसमेत कति कठिन छ भन्ने बुझ्नुपर्छ’, अल–शरीफले भने।

    उनका अनुसार इनार पुनःस्थापना परियोजना स्थानीयको आधारभूत आवश्यकता पूरा गर्ने व्यावहारिक प्रयास हो । यसले बासिन्दाको जीवनस्तरमा प्रत्यक्ष सुधार ल्याउनुका साथै विस्थापनको दबाबबिच उनीहरूलाई आफ्नै क्षेत्रमा बसिरहन सहयोग पुर्‍याउँछ।

    प्यालेस्टिनी पहिचान मेटाउने प्रयासविरुद्ध अभियान

    palestine water

    इनार पुनःस्थापना पुरानो सहरमा प्यालेस्टिनी उपस्थिति र पहिचान जोगाउने समितिको बृहत् प्रयासको एउटा हिस्सा हो। समितिका अनुसार सन् २०२३ अक्टोबरमा गाजामा नरसंहारकारी युद्ध सुरु हुनुअघि पुरानो सहरमा यहुदी बस्तीका चार वटा चौकी थिए। अहिले त्यस्ता चौकीको सङ्ख्या बढेर १२ पुगेको छ।

    यो विस्तार पुस्तौँदेखि पुरानो सहरमा सम्पत्ति र घरजग्गा भएका प्यालेस्टिनी परिवारलाई त्यहाँबाट विस्थापित गरी उनीहरूको स्थानमा इजरायली यहुदी बस्तीका बासिन्दा बसाउने उद्देश्यबाट प्रेरित देखिन्छ।

    यसको प्रतिरोध गर्न समितिले पुरानो सहरका प्यालेस्टिनी परिवारको जीवनस्तर सुधार गर्ने उद्देश्यले विभिन्न परियोजना सञ्चालन गरेको छ। अक्टोबर ७ यता समितिले पुरानो सहरका घरहरूमा ५४ भन्दा बढी परिवारलाई पुनः बसोबास गराइसकेको छ। उपयुक्त आवासको प्रतीक्षामा अझै दर्जनौँ परिवार छन्।

    पुनःस्थापना गरिएका घरमा परिवारहरू फर्किनुले विस्थापनका योजनालाई विफल पार्न सहयोग गरेको छ। यसले आफ्नो भूमि, पुरानो सहर र इब्राहिमी मस्जिदप्रति प्यालेस्टिनीहरूको सम्बन्ध र अपनत्वलाई पनि पुनः पुष्टि गरेको छ। उक्त मस्जिद पनि पटक–पटक इजरायली बस्तीका बासिन्दाको घेराबन्दीमा पर्दै आएको छ।

    हेब्रोनका ३३ वर्षीय दाउद हसन तीन सन्तानका पिता हुन्। उनी पहिले इजरायलमा निर्माण क्षेत्रमा काम गर्थे। गाजामा नरसंहारकारी युद्ध सुरु भएपछि प्यालेस्टिनी कामदारलाई इजरायल प्रवेशमा प्रतिबन्ध लगाइएपछि उनले रोजगारी गुमाए। त्यसपछि उनलाई घरभाडा तिर्नसमेत कठिन हुन थाल्यो।

    समितिको सहयोगमा हसन सात महिनाअघि पुरानो सहरको पुनर्निर्माण गरिएको एउटा परित्यक्त घरमा निःशुल्क बस्न थाले। यस पहलले उनको परिवारलाई जीवनयापन गर्न सहयोग गर्नुका साथै हेब्रोनको प्यालेस्टिनी पहिचान जोगाउन पनि योगदान पुर्‍याएको छ।

    ‘हामी आर्थिक अवस्थाका कारण र आफ्नो इतिहास तथा सम्पदा जोगाउन पुरानो सहरमा बसाइँ सरेका हौँ’, उनले भने।

    -एजेन्सी/हेब्रोन

    प्रतिक्रिया दिनुहोस्
    images
    images