काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि आइतबार भारतको नयाँदिल्ली पुगेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारत पुगेका शाहलाई नयाँदिल्लीमा औपचारिक स्वागत गरिएको छ।
प्रधानमन्त्री बनेपछि बालेनको यो पहिलो भारत भ्रमण हो। यसलाई प्रधानमन्त्रीका रूपमा उनको पहिलो द्विपक्षीय विदेश भ्रमणसमेत मानिएको छ। गत मार्चमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि उनी पहिलोपटक भारत पुगेका हुन्।
भ्रमणका क्रममा सोमबार भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री शाहबीच उच्चस्तरीय द्विपक्षीय वार्ता हुनेछ। वार्तामा नेपाल-भारत सम्बन्धका समग्र पक्षको समीक्षा गर्नुका साथै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा विचार आदानप्रदान हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ।
भारतीय विदेश मन्त्रालयका अनुसार दुई देशबीचको परम्परागत सम्बन्धलाई थप सुदृढ बनाउने विषयसँगै स्टार्टअप, प्रविधि, नवप्रवर्तन र खेलकुदजस्ता नयाँ सहकार्यका क्षेत्र पनि वार्ताको प्राथमिकतामा रहनेछन्।
२ अर्ब डलरको आर्थिक सहायता प्याकेज नेपालको प्राथमिकतामा
बालेनको भारत भ्रमणमा नेपालको आर्थिक पुनर्निर्माण र विकासका लागि प्रस्ताव गरिएको २ अर्ब अमेरिकी डलरको सहायता प्याकेज महत्त्वपूर्ण एजेन्डा बनेको छ। नेपालले विकास आयोजना अघि बढाउन र हालैका बाढीपहिरोबाट प्रभावित क्षेत्रको पुनर्निर्माण गर्न भारतसँग उक्त आर्थिक सहयोगको प्रस्ताव गरेको हो।
प्रस्तावित प्याकेजमा अनुदान र सहुलियतपूर्ण ऋण समावेश छन्। यस विषयमा भारतले सकारात्मक संकेत दिएको भए पनि अन्तिम सहमति र कार्यान्वयनको स्वरूपबारे थप वार्ता आवश्यक रहेको छ।
भारतले प्रस्ताव गर्यो दीर्घकालीन सहकार्यको दस्तावेज
भारतले नेपालसँग आर्थिक सहकार्य, लगानी, पारवहन, ऊर्जा, डिजिटल कनेक्टिभिटी र स्वास्थ्य क्षेत्रलाई समेटेर संयुक्त दृष्टिकोण दस्तावेज अघि सारेको छ। भ्रमणका क्रममा उक्त दस्तावेज सार्वजनिक गर्ने र दुई देशबीचको सहकार्यलाई दीर्घकालीन लक्ष्य तथा निश्चित उपलब्धिसँग जोड्ने प्रस्ताव छ।
यसले विगतमा भएका सहमति र प्रतिबद्धतालाई एकीकृत गर्दै नयाँ सहकार्यका क्षेत्र पहिचान गर्ने अपेक्षा गरिएको छ।
सीमा विवाद र गोर्खा भर्ती पनि छलफलको विषय
नेपाल र भारतबीच लामो समयदेखि विवादित रहँदै आएको लिपुलेक, कालापानी र लिम्पियाधुराको विषय पनि भ्रमणका क्रममा उठ्ने अपेक्षा गरिएको छ। यी भूभागलाई नेपालले आफ्नो अभिन्न क्षेत्र मान्दै आएको छ भने भारतले आफ्नो भूभाग भएको दाबी गर्दै आएको छ।
त्यस्तै भारतीय सेनामा नेपाली गोर्खा सैनिकको भर्तीसम्बन्धी विषयमा पनि दुई देशबीच मतभिन्नता रहँदै आएको छ। यी संवेदनशील विषयमा दुवै देशले कस्तो कूटनीतिक दृष्टिकोण अपनाउँछन् भन्ने विषयलाई चासोका साथ हेरिएको छ।
राष्ट्रपतिसँग भेट र जयशंकरसँग छलफल
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नेछन्। उनले भारतीय विदेशमन्त्री एस जयशंकरसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ।
नयाँदिल्लीस्थित महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रमसमेत भ्रमणको कार्यसूचीमा छ।
प्रधानमन्त्री शाहसँगै परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री स्वर्णिम वाग्ले, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकारलगायत सरकारी अधिकारीहरू भारत भ्रमणमा सहभागी छन्।
प्रधानमन्त्री मोदीले सोमबार नेपाली प्रतिनिधिमण्डलको सम्मानमा औपचारिक दिवाभोज आयोजना गर्ने कार्यक्रम छ। द्विपक्षीय वार्तापछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यसूची पनि रहेको छ।
करिब २४ घण्टाभन्दा केही लामो हुने यो भ्रमणलाई नेपाल–भारत सम्बन्धमा नयाँ चरणको सुरुवातका रूपमा हेरिएको छ। आर्थिक सहयोग, पूर्वाधार विकास, ऊर्जा व्यापार र कनेक्टिभिटीमा ठोस उपलब्धि हासिल गर्नु बालेन सरकारका लागि मुख्य चुनौती हुनेछ। साथै, राष्ट्रिय हितसँग जोडिएका सीमा तथा अन्य संवेदनशील विषयमा नेपालको अडान कूटनीतिक रूपमा प्रस्तुत गर्नु पनि उत्तिकै महत्त्वपूर्ण हुनेछ।





















